भद्रपुर/ व्यवसायी अपहरण गरी ज्यान मार्ने उद्योगमा दायर भएको मुद्दामा ५ वर्षपछि घटनामा दोषी ठहरिएका १४ जनालाई अदालतले कारागार सजायको फैसला गरेको छ ।
झापाको बिर्तामोडका व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरी ज्यान मार्ने उद्योगमा झापा जिल्ला अदालतले अपहरण घटनामा मुख्य अभियुक्त भनिएका भारत आसामका फौदसिंह तामाङसहितका १४ अभियुक्तलाई अदालतले सोमबार जेल सजायको सुनाएको हो । २०७१ माघ १८ गते काँकडभिट्टाबाट अपहरणमा परेका बिर्तामोडका अलैँची व्यवसायी विन्दललाई मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच झापाको धरमपुरमा गोली हानाहानसमेत भएको थियो ।
महिलाको प्रयोग गरेर अपहरण गरिएका विन्दलसँग अभियुक्तले ३० करोड भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । २३ माघमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान हुँदा अपहरणकारीले चलाएको गोली लागेर पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका असइ राजेन्द्र चौहानसहित दुई जना घाइते भएका थिए ।
प्रहरीले व्यवसायी विन्दललाई सकुशल मुक्त गराएको थियो । झापाको धरमपुर–२ स्थित हर्क कन्दङ्वाको घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले अलैँची व्यवसायी बिन्दललाई मुक्त गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा मुद्दा चलाइएकामध्ये तामाङ्लाई जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला गरेको हो । अरु १३ जना अभियुक्तलाई १५ वर्षको कैद सजाय तोकिएको छ ।
पछिल्लो पटक आइतबारदेखि यो मुद्दामाथि सुरु भएको बहस टुङ्गिएपछि सोमबार जिल्ला न्यायाधीस प्रमेश पोखरेलको इजलासले मुद्दाको फैसला गरेको हो । मेचीनगर–१० काँकडभिट्टाका बजरङ्ग पन्सारी, बिर्तामोड–७ का केशव फुयँल, भारत आसामका राजकुमार थापा, धरमपुर पाराबारीका भुवन कार्की, शेखरराज पाण्डे, घरधनी हर्क कन्दङ्वासहित एम्बुलेन्स चालकलाई १५ वर्षका दरले जेल सजाय तोकिएको छ ।