पथरी/ ज्यान मुद्दामा संलग्न मोरङ कानेपोखरी—६ बाट तीन जना युवालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । छिमेकीको हत्या प्रयास गर्ने मध्ये डिकबहादुर खड्का, रोमन मगर र सुजन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु १८ देखि २० बर्ष उमेर समुहका रहेको छन् ।
सामान्य रिसइवीको कारण ज्यान मार्ने उद्योग गर्ने सात जनालाई इप्रकाले ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको थियो । बाँकी चारजना हत्या प्रयासमा संलग्न पथरीशनिशरे कुसेका हिले लिम्बू, प्रविण लिम्बू, आकाश लिम्बू र सनम नाम गरेको व्यक्तिहरु फरार रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उनीहरुले कानेपोखरी—६ का सन्दिप राई, लोकेन्द्र मगर र सुमन मगरको हत्या प्रयास गरेका थिए । शुक्रबार कानेपोखरी—४, स्थित श्याम खड्काको घरमा पुजामा गएको मौका पारेर तीन जनालाई घेराहाली टाउकोमा रड प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट भएको सन्दीप राई र लोकेन्द्र मगरको पथरीस्थित मोरङ नर्सिङ होममा उपचार सम्भव नभएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम)मा रिफर गरिएको थियो । घाइते मध्ये सन्दिप राईको टाउकोमा एउटा नसा काटिएको पीडितको बुबा पंचबहादुर राईले बताए ।
कानेपोखरी—६ स्थित सन्दिप राईको घरछेउमा आएर उनीहरु गाँजा खाने गथ्ये । गाँजा प्रयोग नगर भनेकै कारण राई र मगरमाथि सांघातिक आक्रमण भएको पीडित परिवारको भनाइ छ । राई र मगरलाई आक्रणम गर्ने व्यक्तिहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बजगाईले जानकारी दिए ।