बिर्तामोड/ प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट एकतामा जुट्न अन्य दलहरूलाई आग्रह गरेका छन् ।
नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने भन्दै ओलीले एकतामा आए उचित जिम्मेवारी दिनेसमेत बताए । उनले विप्लव समूहप्रति लक्षित गर्र्दै भने, ‘लुटमार गर्न बम पड्काएका होलान्, त्यसलाई राजनीति भनिदैन, राजनीति गर्ने हुन् भने एकताका लागि आउनुपर्यो, हामी उचित जिम्मेवारी दिन तयार छौं ।’
नेपाल कम्युनिष्ट पार्टीले झापाको सुखानीमा आयोजना गरेको शहीद सप्ताह समापन कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डसँगै आएका ओलीले एकतामा आउन नेपालका कम्युनिष्टलाई आग्रह गरे । पार्टीले फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।
तत्कालीन शासकले २०२९ सालमा जेल सार्ने बहानामा फागुन २१ गते झापा र इलामको सिमानामा पर्ने सुखानीमा हत्या गरेका पाँचजना शहीदका नाममा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरण ऐतिहासिक भएको बताए । उनले भने, ‘यो असाधारण प्रक्रियाबाट एक भएको पार्टी हो । अबको राजनीति शान्तिपूर्ण तवरबाट गर्न सकिन्छ भनेर छुट्टै धारबाट आएको नेकपा माओवादी केन्द्रलाई विश्वासमा ल्याएर एक गराएको पार्टी हो ।’
नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी एकतामा प्रचण्डको असाधारण त्याग रहेको बताए । सरकारले एक वर्षमा धेरै काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । ‘यो एक वर्षमा कुनै अन्य वर्षको भन्दा डेढ गुणा बढी काम गरेका छौं’ ओलीले भने, ‘अब आउने वर्ष योभन्दा बढी काम गरेर देखाउँछौं ।’ उनले अब विकास र समृद्धिमा ध्यान दिएर अघि बढ्नेसमेत बताए । २००७ सालको क्रान्ति अपूरो भएकै कारण झापा विद्रोहको आवश्यकता परेको बताउँदै उनले भने, ‘सुखानीका शहीदहरूको नेपालको इतिहासमा धेरै महŒव छ । त्यसअघि भएका आन्दोलन पूर्ण नभएकै कारण झापा विद्रोह शुरु भएको हो ।’
अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै विद्रोह चाहनेहरूको मानसिकतामा परिवर्तन आउन जरुरी रहेको ओलीको भनाइ थियो । कम्युनिष्ट आन्दोलनमा लागेर मृत्युवरण गर्ने नेता कार्यकर्तालाई क्रमशः शहीद घोषणा गर्ने उनले बताए । उनले शहीदको नाममा कसैलाई हेलाहोचो नगर्ने भन्दै शहीद परिवारलाई आश्वासन दिए ।