धरान । किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दिवस राई निर्विरोध निर्वाचित हुने सुनिश्चित भएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि आगामी कार्यकालको लागि उनी अध्यक्षमा निर्वाचित बनेका हुन् । त्यस्तै कोषाध्यक्ष पदमा पनि युवराज राई निर्विरोध निर्वाचित भए । अन्य पदमा भने भिडन्त भएको छ । ५ जना उपाध्यक्ष पदका लागि ८ जनाले भिडन्त गर्दै छन् ।

 यादव बान्तावा राई, तिलकप्रसाद राई, टिकासरि राई, सर्वधन राई, राकेश राई, गेनबहादुर राई, जीवन हाताचो राई र पारसमणि राईले उपाध्यक्षमा दाबी गरेका छन् । जसमध्ये टीकासरी, गेनबहादुर, पारसमणि यसअघिको कार्यकालमा उपाध्यक्ष थिए । जीवन हाताचो निवर्तमान महासचिव हुन् ।

एक महासचिवका लागि दुई जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा धिरेन्द्र रुम्दाली राई र जनक राई छन् । त्यस्तै उपमहासचिवमा २ जनामा ४ जनाले नाम दर्ता गराएका छन् । सचिवमा ५ पदमा १३ जनाको नाम परेको छ । सह कोषाध्यक्षमा पनि निर्विरोध हुने सम्भावना बढेको छ । दुई पदका लागि दुई जनाले मात्रै नाम दर्ता गराएका छन् ।

२१ सदस्यका लागि ३५ जनाले मनोनयन गरेका छन् । किरायाको ३८ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचनबाट चयन गरिँदै छ भने बाँकी भातृ संगठनबाट ४३ जना मनोनयन गरिने भएको छ । शनिबारदेखि धरानमा शुरु भएको महाधिवेशनमा देशविदेश गरी १ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । विभिन्न भातृ सङ्गठनबाट प्रतिनिधि तथा पर्यवेक्षक सहभागी रहेका छन् । किरात प्रदेशलाई मूल एजेण्डा बनाएर किराया महाधिवेशनेमा होमिएको थियो ।