धरान । राज्यले सबै धर्मलाई सम्मान गर्नुपर्ने प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले बताएकी छन् ।
मङ्गलबार पूर्वाञ्चल इसाई समाजको ५ औं अधिवेशनलाई उद्घाटन गर्ने क्रममा उपसभामुख पोखरेलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सबै धर्मका अनुयायीलाई एउटै मालामा गाँस्नु पर्ने बताइन् । उनले राज्यले धर्ममाथि कुनै विभेद गर्न नहुने तर्क गरिन् । सबै धर्मका अनुयायीहरू राष्ट्रिय हितका निम्ति एक हुन आवश्यक रहेको बताइन् । उनले ‘प्रदेश १ को शान, सबैको मुखमा मुस्कान’ भन्ने प्रदेश १ को नारालाई स्थापित गर्नका ालगि सबै धर्मबीच सद्भाव र एकता भयो भने मुस्कान आउने बताइन् ।
कार्यक्रममा प्रदेश सांसद्हरू सावित्री जोशी श्रेष्ठ, उमिता बराइली, बीना राईलगायतले शुभकामना व्यक्त गर्दै राज्यले सबै धर्मलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । कार्यक्रममा समाजका अध्यक्ष कुवेर गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । त्यसक्रममा भूकम्प पीडित, बाढीपीडित, तराईमा शीतलहर पीडितलाई सामग्री वितरण, नेपाली बाइवल अनुवाद गरेको शताब्दी पुगेको अवसरमा उत्सव कार्यक्रम गरेको जनाए ।
त्यस्तै नेपालको संविधान र कानूनको विषयमा सचेतना कार्यक्रम, इसाईहरूमाथि भएको विभेदकारी कानूनको सम्बन्धमा सरकारका विभिन्न निकायलाई ध्यानाकर्षण गराएको प्रतिवेदन सार्वजनिक गरे । कार्यक्रममा १४ जिल्लाका ३ सय प्रतिनिति र पर्यवेक्षकहरू सहभागी रहेको महासचिव मेहरमान ह्युज गिरीले जानकारी दिए । बुधबार अधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ भने राज्य पुनर्संरचनाअनुरूप प्रदेश इसाई समाज गठन गर्ने विधान पारित गर्ने तयारी भएको छ ।