दमक/ झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरका ज्ञानबहादुर तामाङ र कुमारी तामाङले छोरा जन्मिएको खुसीयालीमा छिमेकी र आफन्तलाई भोज खुवाएका थिए । तर छोरा बढ्दै गएसँगै ज्ञानबहादुर र कुमारीको तनावपनि बढ्न थाल्यो ।
 
कारण छोराका रुपमा जन्मिएका गुञ्जन तामाङको व्यवहार भने छोरीको जस्तो हुन थाल्यो । त्यहिबेला देखि उनले परिवार र समाजबाट अपमान सहनु पर्यो । २२ वर्षीय गुञ्जनलाई अहिले पनि त्यसबेलाको क्षण सम्झिंदा पीडा हुन्छ । ‘हुर्किंदै गएपछि घरपरिवार र समाजले म माथि यति ठुलो सजाय दियो । हरेक पाइलामा भोग्नु पर्यो ।’ गुञ्जनको भनाई छ, ‘बिद्यालयमा शिक्षकले समेत एक्लै बस्न भनेको घटनाले धेरै दुःखी बनाएको छ ।’
 
गुञ्जनलाई आनीबानी सबै महिलाको हुँदा पनि पुरुष भएर जीउनु बोझ लाग्न थाल्यो । त्यसपछि थाईल्यान्ड पुगेर लिंग परिवर्तन गरी उनी महिला बनेपछि औधी खुसी लागेको छ । भन्छन्, ‘उमेर बढेसँगै महिलाले लगाउने कपडा मन पर्न थाल्यो । चुरा, धागो, टीका लगाउन र श्रृगार गर्न मन लाग्थ्यो । लिंगको कारण मात्र म पुरुष थिएँ । त्यसैले लिंग परिवर्तन गरें ।’ 
 
एक महिनाअघि थाईल्यान्ड पुगेर १५ दिनको उपचारपछि लिंग परिवर्तन भयो । लगातार ८ घन्टाको अप्रेसनपछि उनी छोराबाट छोरी मान्छे बनिन् । त्यसकालागि ६ लाख भन्दा बढी खर्च भयो । उनले पहिला पनि करिब ६ लाख खर्च गरेर अप्रेसन मार्फत छातीमा सिलिकन लगाएर स्तन बनाएकी थिईन् । १२ कक्षा अध्ययन पुरा गरेकी गुञ्जनलाई आत्मसम्मानका लागि पनि कुनै सरकारी सेवामा काम गर्ने मन छ । 
 
प्रविधिको विकाससँगै लिंग परिवर्तन गर्न सकिने भएपछि गुञ्जन जस्तै धेरै जनाले लिंग परिवर्तन गरिसकेका छन् । यो प्रविधिले जीवनमा सहजता ल्याएको उनीहरुको अनुभव छ । अञ्जनको भनाई छ, ‘कोही मानिस तेस्रो हुन्छु भनेर भएको होइन । यो त प्राकृतिक कुरा तर यसलाई बुझ्न नसक्दा तेस्रो लिंगीहरुले अपमानित बन्नु परिरहेको छ ।’
 
तेस्रो लिङ्गीको अधिकारका लागि काम गरिरहेको संस्था लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला सुब्बापनि यसअघि नै लिङ्ग परिवर्तन गरेर महिला बनेकी थिईन् । लिड नेपालको तथ्याङ्क अनुसार झापामा करिब दुइ हजार तेस्रो लिङ्गीहरु छन् ।