विराटनगर/  काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननर सिंह केसीले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । 
 
उनले महाधिवेशन तोकिएको समयमा नभए काङ्ग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरेका छन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासमितिले दिएको म्याण्डेडलाई महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भए पनि पार्टी सभापतिले जथाभावी गरिएको आरोप लगाए ।
 
सभापति देउवा भने पदाधिकारीको समयावधि बढाउने तयारीमा छन् । तर उनको तयारीको विरोध हुन थालेको छ । नेता केसीले भने, ‘त्यही भएर बहुमतका आधारमा तोडमोड गरी गरिएको विधान पारित मान्य छैन् ।’ उनले तलैबाट निर्वाचित भएर आउनुपर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए ।
 
सरकार भ्रष्टाचारलाई बढुवा दिने निकायजस्तो भएको आरोप लगाउँदै बुढीगण्डकी, वाइडबडी खरिद, फोरजी इजाजतजस्ता विषयले नेपालकै बद्नामी भएको बताए । एक अर्को प्रसङ्गमा पार्टीको सभापतिको उम्मेदवार बन्न उछिन, पाछिन् गरेर अघि बढ्नुभन्दा सबैको सरसल्लाहमै तयारी गर्नुपर्ने बताए । ‘म पनि सभापतिको आकांक्षी हो तर सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय गर्छु,’ उनले भने ।
 
केसीले नेपाल एयरलाइन्सको वाइड बडी बिमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् । नेता केसीले भने, ‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस् ।’ केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् उसको अभिष्ट उदाङ्गो पारेको आरोप लगाए ।