धरान / पूर्वअर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उपचारको क्रममा शनिबार राति ९ः३५ बजे निधन भएको ह्याम्स अस्पतालले जनाएको छ । उनी ह्याम्समा २३ दिनदेखि उपचाररत थिए । गत माघ २४ गते भर्ना भएका उनी विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो । ह्याम्सका डा. हेमराज पनेरु र डा. भाष्करराज पन्तले निधन भएको पुष्टि गरेका हुन् ।

तीन दिनदेखि उनी अचेत अवस्थामा रहेका थिए । शनिबार मात्रै चिकित्सकहरूले अङ्गहरूले काम गर्न छाडेकाले बचाउन सकिने सम्भावना न्यून रहेको जानकारी दिएका थिए । अस्पतालमा उनको स्वास्थ्यस्थिति बुझ्नका लागि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव र सभामुख कृष्णबहादुर महरा, रक्षामन्त्री ईश्वर पोखरेललगायतका नेता अस्पताल पुगेका थिए ।

उनी लामो समयदेखि छातीको सङ्क्रमण पीडित थिए । चार पटकसम्म अर्थमन्त्री रहेका अधिकारीले एक पटक यातायात तथा निर्माण मन्त्रीको जिम्मेवारीमा पनि रहेर काम गरेका थिए । एकपटक उपप्रधानसमेत रहेका थिए । पहिलो पटक मनमोहन अधिकारीको ९ महिने कालमा उनी अर्थमन्त्री बनेका थिए । त्यो बेलामा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं अभियान चलाएर लोकप्रिय बनेका थिए । ९ महिने कालमा धेरै कामहरू गरेर चर्चाका शिखरमा पुगेका उनको श्रीमतीसहित दुई छोरी र एक छोरा छन् ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तीन दिनअघि मात्रै हेलिकोप्टर दुर्घटनामा नेकपाका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीको पनि निधन भएको थियो ।