भद्रपुर । जनचेतना फैल्याउने काम तीब्र रुपमा अगाडि बढाइए पनि मानव तस्करहरुले विभिन्न उपाय लगाएर नेपाली चेलीहरु बेच्नेक्रम रोकिएको छैन । झापाको पूर्वी नाका काँकडभिट्टाको गेटमा नै माइती नेपालसहितका धेरैं सङ्घ–संस्थाहरुले सचेतना अपनाउन आग्रह गरे पनि चेलीबेटी बेचिने क्रम नरोकिएको हो । झापाका मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुर भएर छिमेकी भारतसँगै तेस्रो मुलुकको गन्तव्यको रोजाइमा पर्ने गर्छन ।
दलालहरुले विभिन्न बहाना बनाएर विषेश गरी काँकडभिट्टाबाट धेरै नेपाली चेलीलाई लैजाने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । यसको मुख्य कारण वैदेशिक रोजगारी नै भएको पाइएको छ । बेचिनेमा अधिकांश अशिक्षित महिला नै रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए । सरकारले त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा कडाई गरेसँगै दलालहरुले विभिन्न नाकासँगै मुख्य गरी पूर्वी नाका प्रयोग गर्ने गरेकोे संयोजक घिमिरेले बताए ।
दलालहरुले रोजगारीको सपना देखाएर अवैध बाटोको प्रयोग गरेर भारत तथा बङ्गलादेशसम्म पु¥याउने अनि त्यस पश्चात इराक, लेबनान, पाकिस्तान लगायतका मुलुकहरुमा नेपाली चेलीहरुलाई बेच्ने गरेको महिलाको क्षेत्रमा काम गर्नेहरुको अनुभव छ । सन् २०१७ मा माइती नेपाल काँकडभिट्टाले भारतका विभिन्न स्थानमा बेचिएका २८ जना महिलाको उद्धार गरेको थियो । सोही समयमा ३ सय १३ जना महिलालाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको जनाएको छ ।
गत वर्ष सन् २०१८ मा भारतका विभिन्न स्थानबाट २४ जना महिलाको उद्धार गरेको माइती नेपालले २ सय ५९ जनालाई पूर्वी नाकाबाट फर्काएको संयोजक घिमिरेले जानकारी दिए । काँकडभिट्टा नाका भई अवैध रुपमा विदेश जान खोज्नेहरुमा झापासहित मकवानपुर, सिन्धुपाल्चोकदेखि पूर्व ताप्लेजुङ, इलामसम्मका पहाडी भेगका १५ देखि ४० वर्ष उमेरका महिला बढी रहेको उनको भनाइ छ ।
अवैध रुपमा चेलीबेटी बेचिने क्रमको मूल समस्या भने बेरोजगारी, घरेलु हिंसा, देखासेखी गर्ने बहानामा धेरै दलालको फन्दामा पर्ने गरेको पाइएको घिमिरेले जानकारी दिए । पछिल्लो समय प्रविधिको विकास भएसँगै दलालहरु भारतमा नै बस्ने र फोन सम्पर्कको माध्यबाटसमेत नेपाली चेलीहरुलाई भारतसम्म बोलाउने र उनीहरुको विश्वासमा परेर जाँदा बेचिने क्रम बढदै जानुचिन्ताको विषय बनेको जनाइएको छ ।
मानवबेच विखनमा महिलाहरु समेत सम्लग्न हुनुले चुनौति थपिएको सरोकारवालाहरुको भनाई छ । महिलाले छिट्टै अरुलाई विश्वास गर्ने गरेका कारण पनि धेरै महिलाहरु दलालको फन्दामा पर्ने तथा नजिकका आफन्तहरुले समेत पैसाको लोभ देखाएर चेलीबेटिहरुलाई फसाउने काम गर्ने गरेको झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठको भनाई छ । कतिपय निर्दोष, बाध्यताका, गरिवीलगायतका कारणले गर्दा विदेश जाने गरेको डिएसपी श्रेष्ठको बुझाइ छ । रोक्ने कामसँगै जाने काम पनि भइरहेको श्रेष्ठले बताए । रोजगारीको नाममा विदेश जानुपरेमा नेपालकै विमानस्थल मात्र प्रयोग गर्न सुझाव समेत दिएको छ । नचिनेको मान्छेको भरपर्दा धेरैको जीवन बर्बादभएको भन्दै प्रहरीले सबैलाई सजगता अपनाउन आग्रह समेत गरेको छ ।
केहीदिन अघि मानव वेचबिखनको जोखिममा परेर उद्धार गरिएका १ सय ७९ नेपालीलाई माइती नेपालले काठमाण्डौंमा अनुसन्धान गरिरहेको जनाइएको छ । माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरिएको थियो । उनीहरुलाई झापाको काँकडभिट्टा नाका हुँदै काठमाण्डौ लगिएको छ । नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स ९युएई०लगायत तेस्रो मुलक लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए ।
माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल फर्काएको घिमिरेले बताए । उद्धार गरिएकामध्ये १ सय ४७ महिला र ३२ पुरुष छन् । करिब २३–२४ जना झापाका महिलाहरु समेत रहेको जनाइएको छ । हाल पूर्नस्थापना केन्द्रमा राखेर दलालको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।
प्रहरी,सानाहात, माइती नेपाल, विश्व सेवा विस्तार र सामी परियोजना यो क्षेत्रमा काम गरिरहेका छन् । यी निकायको गतिविधिलाई नियाल्दा झापामा मानव बेचबिखन उल्लेखीय रुपमा सकृय देखिए पनि बेचबिखनको गिरोह झनै सकृय भएको पाइएको छ ।
अन्य सङ्घ संस्था बाहेक जिल्ला प्रहरी कार्यालयको साढे दुइवर्षको तथ्याङ्कलाई मात्र हेर्ने हो भने गत आर्थिक वर्ष ०७३।७४ भन्दा आर्थिक वर्ष ०७४।७५मा बेचबिखनको अवस्था बृद्धि भएको देखिन्छ । पहिलो वर्ष १० वटा मुद्दा दर्ता भए भने दोस्रोमा २७ पुगेको छ । उद्दारमा १६ जना छन भने दोस्रोमा ३९ जना पुगेको छ । यस्ता घटनामा संलग्न भएका २३ मध्ये ९ जना अझै फरार रहेका छन् । दोस्रो आर्थिक वर्षमा ३० जना पक्राउ परे भने २० जना अझै पनि फरार रहेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ वटा मुद्दा दर्ता भएका छन् । दशजनाको उद्दार गरिएको छ भने बाह्रजना पक्राउ परेको डिएसपी श्रेष्ठले बताए ।