इटहरी/ इटहरी–९ स्थित सानो जनता माविको खेल मैदानको फोहोरले विद्यालयसँगै आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । 
केही दिनअघि होटल व्यवसायी सङ्घ र नमूना कजेल इटहरीले आयोजना गरेको कार्यक्रमको फोहोर नउठाउँदा अहिले विद्यालय क्षेत्र दुर्गन्धित बन्न पुगेको हो । आयोजकले फोहोर त्यसै छाडेको छ । फोहरले दुर्गन्ध फैलिएपछि जनता मावि र छेउमै रहेको कस्तुरी बोर्डिङका विद्यार्थी, जनता माविका विद्यार्थीसँगै आसपासका सर्वसाधरणहरूलाई प्रत्यक्ष असर पुगेको स्थानीयले गुनासो गरेका छन् ।
हालै सम्पन्न फुड फेष्टिवल र नमूना कलेजको शैक्षिक प्रर्दशनी कार्यक्रमबाट थुप्रिएको फोहर अहिले मैदानमा कुहिन थालेपछि दुर्गन्ध फैलिएको अस्पताल टोल विकास संस्थाका अध्यक्ष विजय केसीले बताए । उनले भने, ‘फोहोर कुहिएर गाउँ नै गन्हाउन थालेको छ ।’ 
विभिन्न कार्यक्रमका लागि विद्यालयले मैदान दिनको ११ हजारको दरले भाडा लगाउने गर्छ । भाडा लगाउँदा विद्यालय र आयोजकबीच लिखित सम्झौता गर्ने गरेको छ । जसमा आयोजकले कार्यक्रम सम्पन्न भएपछि खेलमैदान सफा गर्नुपर्ने नियमसमेत राखेको छ । तर, नियमानुसार काम नहुँदा समस्या उत्पन्न भएको बताउँछन् जनता माविमा सहायक प्रधानाध्यापक पशुपति सिग्देल  ।
होटल व्यवसायी सङ्घ इटहरी र नमूना कलेजले मैदानको फोहोर उठाउनमा चासो नदिँदा मैदान दुर्गन्धित बनेको भन्दै स्थानीयहरूले आरोप लगाए । मैदानमा अहिले कुहिएका आलु, टमाटर, रक्सीका बोतल र प्लास्टिकले भरिएको छ । माघ २४ देखि फागुन ३ गतेसम्म आयोजना गरिएको फुड फेष्टिवलबाट उत्पादित फोहर मैदानमा थुप्रिएको छ ।
यस्तै नमूना कलेजले पनि फागुन ६ गते एक दिने शैक्षिक प्रदर्शन आयोजना गरेको थियो । यता फुड फेष्टिवल आयोजना गर्ने होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले खेल मैदानमा जम्मा भएको फोहोर फेष्टिवलको नभएको दाबी गरे । ‘हामीले सम्झौताअनुसार फेष्टिवल समापन भएको भोली पल्ट सफा गरेर हिँडेका हौ’ उनले भने ‘पछि नमूना कलेजले गरेको कार्यक्रमबाट फोहोर थुप्रिएको हो ।’
नमूना कलेजका अध्यक्ष केशब खड्काले पनि एक दिनको कार्यक्रममा त्यत्रो फोहर नहुने दाबी गरे । ‘हामीले कार्यक्रम गर्दा उल्टै फोहोर सफा गरेर कार्यक्रम गरेका हौं, हाम्रो कार्यक्रममा मात्र प्लाष्टिकको ग्लास र कार्टुन प्रयोग भएको छ, जुन हामीले जलाएर हिँडेका थियौं । त्यति धेरै फोहोर हामीले गरेका हैनौं ।
                            
                    
        
                                        
                                                                                                
        































