‘डाक्टर सा’ब, मैले के खान हुन्छ के खान हुँदैन, सबै भनिदिनुस् न ।’
बिरामीसँगको भेटमा एउटा चिकित्सकले अत्यधिक सुन्ने वाक्यांश यस्तै हुन्छन् ।
पछिल्लो समय छालासम्बन्धी बिरामीमा मानिसको सचेतना बढेसँगै खाना र रोगको सम्बन्ध जान्न पनि उत्तिकै उत्सुक छन् । कुनै–कुनै रोगमा यो चाहिँ खाना नखानुस् भनेर सजिलोसँग भन्न सकिए पनि धेरैजसो अवस्थामा यो नखानुस् या खानुस् भन्न चिकित्सकलाई पनि सजिलो छैन ।
दृश्य १
करिब २५ वर्षे अलिक दुब्लो एक व्यक्ति ओपिडीमा आउँछन् छालाको एलर्जीको समस्याले । गाउँघरमा छालाको एलर्जीमा मासु खान हुन्न भनेको भरमा उनले मासुलगायत आलु, दाल, भेन्टाहरू नखाएको करिब तीन वर्ष भएछ । पहिलो नजरमा नै भन्न सकिन्छ कि उनी छालाको एलर्जीले भन्दा पनि पौष्टिक आहारको कमीले पीडित छन् ।
दृश्य २
करिब पाँच वर्षको बच्चालाई जिउमा केही डाबर आएको छ । चार–पाँच दिनदेखि आफन्तको सल्लाहमा कुनै घरेलु औषधिलाई उमालेर त्यसको झोल खुवाइन्छ । परिणाम बच्चालाई जिउभरि झन् धेरै एलर्जी आउँछ र अस्पतालमा भर्ना हुनुपर्दछ ।
यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना हाम्रो दैनिक चिकित्सकीय अभ्यासमा धेरै देखिन्छ ।
प्रस्तुत लेखमा छालाको विभिन्न रोगहरूमा हामीले खाने खानासँगको सम्बन्ध देखाउने कोशिस गरिएको छ ।
छालाको एलर्जी (अर्टिकेरिया)
सिउडोएलर्जिन फ्री डाइट– सिउडोएलर्जिनको प्रयोग खानाको स्वच्छता कायम राख्नका लागि अथवा खानालाई रङ्गीन बनाउन प्रयोग हुन्छ । जो तयारी अथवा लामो समयसम्म भण्डारण गर्नुपर्ने खानामा हुन्छ । त्यस्ता खानाहरूको कमभन्दा कम प्रयोगले एलर्जीका बिरामीलाई फाइदा भएको अध्ययनले देखाएको छ । अर्थात्, घरमा आफैले पकाएको स्वच्छ र ताजा खानाको नियमित प्रयोग ।
अरोमेटिक कम्पाउण्ड्स– यस्ता रसायनयुक्त खानेकुरा दूध, अण्डा, चीज, मख्खन, पाउरोटी, पास्ता, मह, गोलभेँडा, पालुङ्गो, मकैजस्ता खानेकुरामा पाइन्छ । तर यी खानेकुरा सबै छोड्नुस् भन्ने लेखकको आसय होइन ।
डण्डीफोर
गुलियो खाद्यपदार्थ– विभिन्न अध्ययनले देखएका ग्लुकोज तथा इन्सुलिनको मात्रा तुरुन्त बढाउने खानेकुराको सेवनले डण्डीफोर निकाल्न वा बढाउन मद्दत गर्दछ । जस्तैः ग्लुकोज, आलु, सेतो चामल, सेतो पाउरोटी, फ्रेन्च फ्राई, दुनोट, केरा, अङ्गुरले डण्डीफोर बढाउने देखिएको छ । त्यसकारण डण्डीफोरको समस्या आएकाहरूले यी खानेकुरा खाँदा सावधानी अपनाउन जरुरी हुन्छ ।
दूध–दूधको अधिक सेवनले डण्डीफोर बढाउने अध्ययनहरूले देखाएका छन् ।
सोरायासिस–यसलाई नेपालीमा कत्लेरोग पनि भनिन्छ । छालाका विभिन्न दीर्घरोगमध्ये यो पनि एक हो । रोगको अवस्थालाई कम गर्न सकिए पनि यो रोग पूर्णरूपमा नफर्किने गरी निको गर्न सकिँदैन । अध्ययनअनुसार यो रोगमा खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । खानामा चिल्लोपदार्थ एकदम कम हुनुपर्छ ।
धूमपान तथा मद्यपानले यो रोग बढाउँछ । खानामा विशेषगरी पौष्टिक आहार बढाउने भिटामिन डी तथा अन्य एन्टी–अक्सिडेण्टहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको मात्रा बढाउनु पर्छ । फोलिक एसिड नामक भिटामिन सोरायासिसका बिरामीमा उपयोगी देखिएको छ । साथै मेथोट्रेकसेट नामक औषधि प्रयोग गर्दा फोलिक एसिडको नियमित प्रयोग गरिन्छ ।
छालाका क्यान्सरहरू–एन्टी–अक्सिडेण्ट भिटामिनहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको कमी, भिटामिन डीको कमी, खानामा अधिक चिल्लो पदार्थहरूसँग छालाको क्यान्सरको सम्बन्ध देखिएको छ ।
एटोपिक डर्माटाइटिस– नवजात शिशुलाई ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने हो भने एटोपिक डर्माटाइटिसलगायत छालाको विभिन्न रोगबाट बचाउन सकिन्छ ।
दूध र अण्डा– हुन त दूध र अण्डाले एटोपिक डर्माटाइटिसको समस्यालाई बल्झाउने कुरा जनमानसमा व्याप्त छ । केही हदसम्म यो साँचो पनि हो । तर जबसम्म दूध र अण्डाको एलर्जी बिरामीलाई छ भनेर प्रमाणित हुँदैन, तबसम्म यी परिकार नछोड्ने सल्लाह दिइन्छ ।
किनभने पौष्टिक आहारको अभावमा बिरामीलाई अरू समस्या देखिने सम्भावना हुन्छ । एलर्जी छ कि छैन भनेर प्रमाणित गर्नका लागि विभिन्न माध्यम जस्तैः दूध र अण्डाको सेवन गर्दा एलर्जी बढ्ने, स्किन प्रिक टेष्ट तथा रगतमा आइजिईको मात्रा हेर्न सकिन्छ ।
प्रोबायोटिक्स तथा प्रिबायोटिक्स– प्रोबायोटिक्सहरू जिउँदा कीटाणुहरू हुन्, जसको सेवनले शरीरमा फाइदा हुन्छ । प्रिबायोटिक्सहरू त्यस्ता खाद्यपदार्थ हुन्, जसले आन्द्रामा फाइदाजनक कीटाणुको मात्रा बढाउँछ । यिनीहरूको सेवनले आन्द्रामा भएका कीटाणुहरूको संवेदनशीलतालाई परिवर्तन गर्नुका साथै आन्द्राका सुजनलाई कम गरी एटोपिक डर्माटाइटिसमा सहयोग गर्छ ।
(लेखकः चर्म यौनरोग विशेषज्ञ डा. धिताल अरोगिन हेल्थ एण्ड रिसर्च सेण्टर विशालनगरमा कार्यरत छन् ।)
साभारः स्वास्थ्यखबरबाट