इटहरी/ एसिड आक्रमणबाट गम्भीर घाइते भएका एक सडक बालकको उद्धार गरिएको छ । अन्दाजी १६ वर्षका दीपेन परियारलाई इटहरीका सामाजिक अभियानकर्ताहरूले उद्धार गरी नोबेल अस्पताल लगेका हुन् ।
परियारको अनुहारमा एसिड आक्रमण भएका कारण अनुहारको हड्डी नै देखिने भएको छ भने हात पनि एसिडले जलेको छ । उनी एक हप्तादेखि धरानलाइनको सडक किनारमा अचेत अवस्थामा थिए । विराटनगरमा उनलाई एक व्यक्तिले एसिड प्रहार गरेको बताइएको छ ।
अनुहारको मासु सबै जलेर भित्रको हड्डी बाहिर निस्किएको अवस्थामा उनलाई उद्धार गरिएको इटहरीका सक्रिय महिला अभियन्ता विमला ढकालले बताइन् । निकै गम्भीर र अचेत अवस्थामा स्थानीयले देखेपछि सामाजिक अभियानकर्ताको समूहले उनको उपचारको लागि नोबेल अस्पताल लगेको हो ।
ढकालले बालकको अवस्था दयनीय देखेपछि सबैको सहयोगमा उपचारको लागि पठाइएको बताइन् । ‘बालकको अवस्था निकै गम्भीर छ, एउटा मानवीय सोचका साथ उपचारको लागि पठाएका छौं’ –उनले भनिन् ।
































