भद्रपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राष्ट्रलाई पाखा लगाएर धर्मनिरपेक्ष र सङ्घीयता कार्यान्वयनमा ल्याए पनि जनताले सकरात्मक परिर्वतनको अनुभूति गर्न नपाएको बताएका छन् ।
 
पूर्वको ताप्लेजुङ जिल्लाको सदरमुकामबाट बुधबारदेखि शुरु हुने मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको उद्घाटन गर्न मङ्गलबार झापाको चन्द्रगढी विमानस्थलमा आएका अध्यक्ष थापाले सञ्चारकर्मीसामू यस्तो बताएका हुन् । उनले २०६२/६३ को जनआन्दोलनपछि परिवर्तनलाइ संस्थागत गर्ने क्रममा देशमा महत्वपूर्ण राजनीतिक परिर्वतन भए पनि यसले विपरीत र नकरात्मक परिणाम आइरहेको बताए ।
 
राप्रपाले हिन्दू राष्ट्र पूनस्र्थापना लगायतका विभिन्न मागहरू राखेर मेची–महाकालीको यात्रा तय गरेको उल्लेख गर्दै नेपालकै इतिहासमा पहिलो पटक राष्ट्र विखण्डनको आवाज उठेको बताए । शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको समयमा नयाँ ढङ्गबाट माओवादी विद्रोहको पुनरावृत्ति भएको थापाले जनाए । नेपालको सनातन धर्म र संस्कृति कमजोर हुँदै गइरहेको बताउँदै अर्थतन्त्र धरासयी भएको उनले बताए ।
 
पछिल्लो पटक प्रशासन, संवैधानिक अङ्ग, सुरक्षा निकाय, न्यायपालिकालगायत तीव्र पार्टीकरणको चपेटामा परेको उनको आरोप छ । उनले यी सबै तितो अनुभवलाई दृष्टिगत गर्दै १२ वर्षको अनुभवलाई पृष्ठभूमीमा राखेर विगतका त्रुटि र कमजोरीलाई सच्याई सबै नेपालीलाई सर्वस्वीकार्य हुने राजनीतिक प्रणाली , सामाजिक सांस्कृतिक व्यवस्था, भष्ट्रचार नियन्त्रण र शुसासन कायम गर्नको लागि जनताका माझ जनचेतनाको अभिवृद्धि गरि शसक्त दबाव सिर्जना गरेर पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना गरिने उनको भनाइ छ । राजादेखि माओवादीसम्म अटाउन सक्ने राजनीतिक प्रणालीको स्थापना कायम गर्ने अभियानको मुख्य लक्ष्य रहेको उनले बताए । 
 
स्वाभीमान यात्रा सम्पन्नपश्चात् जनसङ्घर्षको नयाँ चरणमा प्रवेश गरिने उनले जनाए । हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका केही सैद्धान्तिक , केही राष्ट्रिय  र जनसरोकारका माग राखेर राप्रपाले गत फागुन ७ गते सरकार र प्रधानमन्त्री केपी ओलीलाई २२ बुँदे ज्ञापन–पत्र बुझाइसकेको उनले जानकारी गराए । फागुन मसान्तसम्म सरकारले माग सम्बोधन नगरेमा चैत्रको पहिलो हप्ताबाट देशव्यापी जनसङ्घर्ष शुरु हुने उनले चेतावनी दिए ।
 
पहिलो चरणमा देशका ७ सय ५३ वटा स्थानीय तह, जिल्ला सदरमुकाम, प्रदेश राजधानी केन्द्रित हुँदै अन्तिम काठमाडौंमा हुने सभाले माग पूरा हुने आसा र विश्वास लिएको उनले जनाए । बुधबारबाट शुरु हुने मेची–महाकाली यात्रा आउँदो बिहीबार बिर्तामोडमा शक्ति प्रर्दशन गरेर सुदूरपश्चिमको कञ्चनपुर, कास्की, तनहुँ, धादिङ हुँदै अनुमानित २ सयभन्दा बढी कोणसभा गरेर फागुन ३० गते काठमाडौंमा पहिलो चरणको अभियान सम्पन्न हुने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए ।