धरान/ एमाले र माओवादी एकीकरणमा ढिलाइ भइरहेकोले आफ्नै पार्टी पंक्तिबाट आलोचना हुन थालेपछि बल्ल एकीकरण प्रस्ताव तयार पार्न गठित समिति कार्यदलले प्रतिवेदन बुझाएको छ । 
 
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै प्रतिवेदन सोमबार बुझाएको हो । एकीकरणको काम ढिलाइ हुनुमा कार्यदलका बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई दोषारोपण गरेका छन् ।
 
कार्यादलमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, वेदुराम भुसाल रहेका थिए । उनीहरूले बेग्लाबेग्लै प्रतिवेदन तयार पारी दुवै अध्यक्षलाई बुझाएका हुन् । सचिवालय बैठकले अघिल्लो साता विघटन गरेको नौ सदस्यीय कार्यदलमध्ये पाँच जनाको सङ्ख्या बहुमत हो ।
 
बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा बादल र पौडेलको ढिलासुस्तीलाई नै प्रमुख मानिएको छ । प्रतिवेदनमा दुई जनाको अनिच्छाले गर्दा नै कार्यदलबाट निर्धारित समयमा काम हुन नसकेको बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राति नै प्रतिवेदन बुझाइएको कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए ।
 
अध्यक्ष ओलीले प्रतिवेदनलाई सकारात्मक रूपमा नै लिएको बताइन्छ । तर, ओलीले त्यसबारेमा खुलेर बाहिर ल्याएका छैनन् । शनिबार नै प्रचण्डलाई बेग्लै प्रतिवेदन बुझाएका थिए । स्थायी कमिटीबाट गठित कार्यदललाई सचिवालयले अघिल्लो सातामात्रै भङ्ग गराएको थियो । जुन पार्टीको विधानको धारा ३३ (ग) विपरीत रहेको दाबी कार्यदलका सदस्यहरूको छ ।
 
एकीकरणका लागि बुझाएको प्रतिवेदनमा नौ बुँदे प्रस्ताव प्रस्तुत गरिएको छ । यसविषयमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सुनसरीको धरानमा आइतबार भएको कार्यक्रममा नै दुई अध्यक्षले गरेको एकीकरणको औचित्य नभएको आशयगत टिप्पणी गरेका थिए । उनले पार्टी एकीकरण भावनात्मक रूपमा हुन नसकेको र एकीकरणमा ढिलाइ हुँदा नेता, कार्यकर्तामा निराशा छाएको बताएका थिए ।