भद्रपुर/ झापा प्रहरी प्रशासनले प्रतिबन्धित घरेलु मदिरा नियन्त्रणको स्ट्रिङ् अपरेशन जारी राखेको छ । ।

प्रहरीले भद्रपुर नगर क्षेत्रबाट मात्र हालसम्म करिब ११ सय लिटर घरेलु मदिरा बरामद गरेको जनाएको छ ।

माघ १ गते देखी नियन्त्रित जिल्ला बनाउने अभियान शुरु गरेसँगै जिल्ला प्रहरी लगायत वडा प्रहरी कार्यालय भद्रपुरले घरेलु मदिरा नियन्त्रण अभियानलाई जारी राखेको हो ।

अनुमति बिना घरमा उत्पादित घरेलु मदिरा नगरभित्रका मदिरा पसलमा बिक्रीवितरणका लागि लैजाने गरेको अवस्थामा आन्तरिक राजश्व कार्यालयले ६ सय लिटर बरामद गरेको छ ।

त्यसैगरी भद्रपुरको किचकबध मेलामा खुलेआम बिक्रीवितरण लागि राखिएको करिब ५ सय लिटर मदिरा एकैदिन बरामद गरेको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएको मदिरालाई बुधवार बेलुका सरोकारवाला निकायको उपस्थितीमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अवैधानिक रुपमा बिक्रीवितरण हुने घरेलु मदिरालाई बरामद गर्नुका साथै अनुमति लिएका मदिरा पसलमा समेत प्रहरीले निगरानी बढाएको जनाएको छ ।