विराटनगर/ नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका अध्यक्ष सिपी गजुरेलले दुई तिहाइको वर्तमान सरकार र प्रतिपक्ष दुवैले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । 
 
विराटनगरमा मेची महाकाली अभियानको विषयमा जानकारी दिन विराटनगरमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले सरकार दुई तिहाइको भए पनि भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । उनले बलात्कारपछि हत्या हुँदा छानबिन गरेर न्याय दिनुको साटो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएको भन्दै सरकार असक्षम रहेको बताए ।
 
सरकारले राम्रो काम नगरे झक्झक्याउनुपर्ने प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले एक दिन सडक तताए पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनले बताए । पार्टीले मेची–महाकाली अभियान सञ्चालन गरेर अहिलेको संसदीय व्यवस्था परिवर्तन गरेर सङ्घीय जनगणतन्त्र ल्याउन जनतालाई जागरुक गराउने जानकारी उनले दिए ।
 
अभियान सात गते झापाबाट शुरु भएर बिहीबार विराटनगर आइपुगेको हो । १५ औं दिन फागुन ११ मा टोली चितवन पुग्ने र पश्चिमबाट पनि सोही दिन चितवन आएपछि फागुन २१ मा चितवनमै अभियान समापन गर्ने जनाइएको छ ।