धरान / प्रजातन्त्र दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाको वन तथा वातावरण महाशाखाले सफाइ अभियान सोमबारदेखि थालेको छ ।

तीन दिनसम्म चल्ने सफाइ अभियान धरानको मुख्य प्रवेशद्वार तीनकुनेदेखि इटहरीको सीमा क्षेत्रसम्म गरिने धरान–१५ का वडाध्यक्ष नरेश इवारामले जानकारी दिए । सफाइ कार्यक्रममा धरानका दन्तकाली, बुढासुब्बा, विजयपुर लायन्स क्लबको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसहित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू सहभागी थिए ।

पहिलो दिन तीनकुनेबाट विश्वकर्मा मन्दिरसम्म सफाइ गरिएको छ । जङ्गल क्षेत्रको सफाइका लागि वातावरण महाशाखाले तीनकुनेदेखि इटहरीको सीमासम्ममा फोहोर फाल्न निषेध गर्नका लागि धरान–१५ को बाँझोगरा सामुदायिक वनका हेरालुलाई वार्षिक एक लाख रुपैयाँ दिने गरी खटाएको छ । तर, प्रभावकारी कार्यान्वयन हुन नसकेको जनप्रतिनिधि नै बताउँछन् ।