बिर्तामोड /  साधारणसभाको पुर्व सन्ध्यामा नेपाल पत्रकार महासंघ झापाको कार्यालयमा मंगलबार तालाबन्धी भएको छ ।
प्रेस चौतारी झापा र आदिवासी जनजाति पत्रकार महासंघ झापाले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् । महासंघले फागुन ३ गते साधारणसभा गर्ने तयारी गरेको थियो । कार्यालयमा तालाबन्दी पछि साधारणसभा अनिश्चित बनेको छ ।
पत्रकार महासंघको बर्तमान नेतृत्वले ५३ जना निश्क्रिय सदस्यको बिवरण सार्वजनिक गर्दै उनीहरुको सदस्यता नविकरण गर्न अस्विकार गरेको थियो । चौतारी र फोनिजले त्यसको बिरोध गर्दै तालाबन्धी गरेका हुन् । फोनिजका झापा अध्यक्ष बिशाल नेम्वाङले महासंघले सदस्यता खारेजीमा बिभेदपुर्ण निर्णय गरेकोले त्यो निर्णय सच्याउन माग गर्दै तालाबन्दी गरिएको बताए ।
चौतारीका झापा अध्यक्ष मुक्ति पौडेलले पत्रकार महासंघले ठूलो संख्यामा रहेका सदस्यलाई बाहिर राखेर साधारणसभा गर्न लागेकाले त्यसको बिरोधका लागि तालाबन्दी गरिएको बताए । उनले महासंघले त्यो निर्णय नसच्याएसम्म ताला नखोल्ने अडान राखेका छन् ।
पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटाले तालाबन्दलीका कारण साधारणसभा प्रभावित हुनसक्ने प्रतिक्रिया दिए । उनले नियत अघि सारेर केही संगठनले ताला लगाएको आरोप लगाए । ‘यस्तो प्रतिकुलताको बीच साधारणसभा गर्न सकिन्न, सापकोटाले भने ‘यस्तै परोभने अधिवेसन बोलाइ दिन्छु ।’ सापकोटाले महासंघमा शुद्धिकरण गर्ने मुद्दा बोकेर चुनाव जितेका कारण त्यो अडानबाट पछि नहट्ने प्रतिक्रिया दिए । बुधबार बिहान महासंघको बैठक बसेर थप निर्णय गर्ने सापकोटाले बताए ।