पथरी/ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी फागुन मसान्त भित्र टुङ्गो लगाउने बताएका छन् । सोमबार पथरीमा भएको किरात राई यायोक्खा मोरङको छैठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
हिउँदे अधिवेसनको मुख्य एजेन्डा राजधानी र नामकुरण नै भएको बताउँर्दै माघ २० गते देखि प्रदेशको हिउँदे अधिवेसन सुरु भएकोले आगामी फागुन मसान्त सम्म राजधानी र नाम टुङ्गो लगाउने मुख्य मन्त्रि राईको भनाई थियो ।
गएको अधिवेसनमा नामकरण र राजधानी टुङग्याउने छलफल भएपनि प्रदेश सरकारमा रहेको पाँच दलको प्रतिनिधिले विविध कारणले समय नरहेको जनाउँर्दै हिउँदे अधिवेशनमा राजधानी र प्रदेशको नाम टुङ्गो लगाउने लिखित सहमती भएको मन्त्रि राईले बताएका छन् ।
किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले करिव एक दशक देखि पूर्वी नेपालको १७ वटा जिल्लालाई भूगोल, इतिहास, सभ्यताको सम्मानको लागि प्रदेशको किरात राखिनु पर्ने माग गर्दै प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको छ । मुख्यमन्त्री राईले सो बिषय आफू जानकार रहेको उल्लेख गर्दै बलियो तर्क र तथ्यको आधारमा प्रदेशको नाम राखिने बताए ।
किरात शब्द, विचार वा नामको आधारमा सवैले सम्मान गरिरहेको आफूले बुझेको मुख्यमन्त्रीको भनाइ थियो । नेपाल भनेपछि हिमाल, पहाड र तराई सम्पूर्णक्षेत्रलाई समेटे जस्तै यो अखण्डतालाई अझ बलियो बनाएर लानुपर्ने मन्त्री राईको भनाई थियो । कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएको यायोक्खा केन्द्रीय अध्यक्ष तिलकप्रसाद राईले १ नम्बर प्रदेशको नाम किरात नभए कडा आन्दोलन गर्ने बताए ।
किरात पहिचान कुनै एउटा जाती नभएर भूगोल, इतिहास, सभ्यता, कला, संस्कृति भएकोले प्रदेशबासीको चाहना किरात नाम रहेको अध्यक्ष राईले बताए । सम्मेलनमा यायोक्खा मोरङले मुख्यमन्त्री शेरधन राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, लेटङ नगरपालिकाका प्रमुख शंकर राई, रतुवामाई नगर प्रमुख रविन राई, उपप्रमुख मञ्जु राई, मिक्लाजुङ्ग गाउँपालिका उपप्रमुख सरला राईलाई सम्मान पत्रले सम्मान गरेको थियो ।
त्यसैगरी १ नम्बर प्रदेश सभा सदस्यहरु सुयर्माराज राई, कृष्णकुमारी राई, यायोक्खा मोरङका पूर्व जिल्ला अध्यक्षहरु रामकाजी राई, तिलकप्रसाद राई, बुद्धि चाम्लिङ, विवि राई लगायतलाई किराती संस्कार अनुसारको सम्मान र पेटा लगाएर सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष नवीन राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैबीच मुख्यमन्त्री राईले मोरङको पथरीशनिश्चरे २ स्थित उचित जैविक उद्योगको उद्घाटन गरेका छन् । कार्यक्रममा, राष्ट्यि किसान आयोगकी सदस्य मीना तामाङले किसानको हितकारी नीति आयोगले बनाएर कृषि क्षेत्र मुलुकको प्रमुख समृद्धिको क्षेत्र बनाइने बताइन् ।
वडा नम्बर २ को उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ ।