विराटनगर / प्रदेशसभाको आजको बैठकमा शून्य समयमा प्रदेश सभासदस्य रामचन्द्र लिम्बूले सबै क्षेत्रबाट परिपूर्ण, स्वच्छ र सुन्दर वातावरण भएको धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने बताएका छन् । आज प्रदेशसभाको शुन्य समयमा बोल्दै लिम्बुले यस्तो माग गरेका हुन ।
सदस्य विमल कार्कीले जङ्गली जनावरको चपेटामा ज्यान गुमाउने सबैलाई एकै किसिमको राहत उपलब्ध गराउनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ प्रस्ताव सदनमा प्रस्तुत गरियो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले पेश गरेका थिए ।
मन्त्री कार्कीले मुख्यमन्त्री तथा भौत्तिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट बनेको यो विधेयक प्रदेशमा बन्ने सरकारी भवनलाई प्राकृतिक प्रकोपबाट क्षति हुन नदिन भवन मापदण्ड बनाइएको बताए । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते दिउँसो १२ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।