काठमाडौं /झापामा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन हुने भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एवम् नेपाल कम्युनष्टि पार्टी (नेकपा)का नेता एल.पी. साँवा लिम्बुको नेतृत्वमा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन गर्न लागिएको हो ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियान अन्तरगत झापा इनर्जी लिमिटेड कम्पनी स्थापना गरेर सोलार पावर उत्पादन अभियान सुरु गरिएको सांसद साँवाले बताए । उनका अनुसार गत २०७५ असोज १६ गते भापा इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर काम अघि बढाइएको छ ।

आयोजना सञ्चालनको लागि साँवाको अध्यक्ष रहेको ११ सदस्सीय सञ्चालक समिति गठन गरिएको छ । समितिमा प्रेम गिरी, झलक दर्लामी, बसन्त बानियाँ, रामचन्द्र उप्रेती, ज्ञानुराम प्रसाई, शिवकुमार ढुङ्गेल, गणेश ढकाल, सुबास भट्टराई, देविभक्क्त श्रेष्ठ र गणेशप्रसाद पोखरेल छन् ।

यसैगरी झापाको स्थानीय तह स्तरमा पनि लगानी व्यवस्थापनको लागि समिति बनाइएको छ । यो आयोजनाको कुल लागत ८७.९८ करोड हुनेछ । वार्षिक उत्पादन १.५५ करोड युनिट विद्युत् शक्ति हुनेछ । आयोजनबाट वार्षिक ११.३० करोड हुने लक्ष्य राखिएको छ । वार्षिक सञ्चालन ४४ लाख गरेर वार्षिक नाफा १०.८६ करोड राखिएको छ । यो आयोजना सम्पन्न गर्नका लागि समय भने एक वर्षको राखिएको छ ।

विद्युत खरिद बिक्री सम्झौता र उत्पादन अनुमतिपत्र ६ महिना लाग्नेछ । यस्तै संरचना निर्माण र सोलार जडानमा ६ महिना समय लाग्नेछ ।

यो आयोजना सम्पन्न भएपछि कृर्षि, रिसोर्ट, माछापालन, फनपार्क लगायतका क्षेत्रमा सामुहिक लगानी जुटाएर काम गर्ने योजना रहेको सांसद साँवाले बताए । झापाका हरेक नागरिकहरुलाई सुखी र समृद्ध बनाउनका लागि सामुहिक लगानीको काम प्रयास अन्तरगत यो आयोजना अघि सारिएको उनको भनाई छ ।

हरेक नागरिकलाई उत्पादनसँग जोड्ने अभियानको सुरुवात भएको उनी बताउँछन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका साँवाले भने, ‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली, समृद्ध नेपाल अभियानको एउटा सानो अंश यो पनि हो ।’