भोजपुर/ जिल्ला अदालत भोजपुरले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित १६ जनालाई सफाइ दिएको छ ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसारको समयमा भोजपुरमा बम विस्फोट गराएको आरोप खेपिरहेका महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्डलगायतलाई अदालतले सफाइ दिएको हो ।

निर्वाचनको बेला जिल्लाको ३ ठाउँमा बम विस्फोटको आरोप लागेका २० मध्ये महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पदमबहादुर राईसहित १६ जनाले सफाइ पाएका हुन् । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले उनीहरूलाई सफाइ दिएको हो ।

उनीहरूमाथि टेम्केमैयुङ गाउँपालिका–६, कोटस्थित पिखुवा खोलामाथि गुम्बामा प्रदेशसभा ‘ख’ का उम्मेदवार शेरधन राई चढेको गाडीमा बम विस्फोटको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो । त्यस्तै साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गरेको आरोपमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

उनीहरू विरुद्ध षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोटसम्बन्धी मुद्दासमेत दायर भएको थियो । मुद्दामा सफाइ पाउनेमा विप्लवका कार्यकर्ता बम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायतका रहेका छन् ।

त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई जनही ४०–४० हजार जरिवानाको फैसला भएको श्रेस्तेदार राजकुमार दाहालले बताए । त्यस्तै, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किरातीको ठेगाना स्पष्ट नखुलेकाले तामेलीमा राखिएको अदालतले जनाएको छ ।

केही महिनाअघि बम विस्फोटसम्बन्धी मुद्दामा अनुसन्धान गर्न विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेतालाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रवक्ता प्रकाण्डलाई ६० हजार रुपैयाँ धरौटी राखेर छुटेका थिए ।

सर्वोच्च अदालतले समेत यसअघि बन्दी प्रत्यक्षीकरण मुद्दाको फैसला गर्दै प्रकाण्डलाई रिहाइ गर्न आदेश दिएको थियो ।