रङ्गेली/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन प्रदेश सांसद्हरू सक्षम रहेको बताएका छन् ।
आइतबार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरूसँगको भेटघाटको क्रममा मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन तथा दबावले नहुने बताए । उनले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारलाई रहेको बताए ।
‘सहमतिबाट टुङ्ग्याउँछौ । त्यो हुन नसके प्रक्रियामा जान्छ । त्यसलाई अन्यथा मान्नु हुन्न’ उनले भने, ‘सबैको भावना प्रतिनिधित्व हुने गरी टुङ्ग्याउने तयारीमा छौ ।’
मुख्यमन्त्री राईले नाम र राजधानीको विषय टुङ्ग्याउन कुनै पनि बाहनाले नछेक्ने बताए । उनले यो विषयलाई यसै अधिवेशनबाट सक्ने बताए । उनले समझदारीबाटै प्रदेशको नाम र राजधानीको प्रदेशसभामा प्रवेश गराउने बताए ।
उनले आइतबारबाट शुरु हुने हिउँदे अधिवेशन अत्यन्तै महत्वपूर्ण भएको जिकिर गरे । उनले महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रवेश गराउने बताए । उनले बजेट कार्यान्वयनमा ढिलाइ भएको स्वीकार गरे ।
उनले सङ्घीय सरकारले हस्तान्तरण गर्नुपर्ने विषय हस्तान्तरणमा ढिलाइ गर्दा यस्तो जटिलता भोग्नु परेको जिकिर गरे । उनले प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले प्रदेश सरकार कृषिलाई आधुनिकीकरण गर्ने पक्षमा रहेको बताए । त्यसका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालनमा रहेको जिकिर गरे । कृषि प्रवद्र्धनको लागि प्रदेश सरकारले माघ २६ गतेबाट हरियाली अभियान सञ्चालन गर्न लागेको बताए । उनले फागुन ३ गते प्रदेश सरकारको काम र गतिविधिको मूल्याङ्कन र समीक्षा गर्नेसमेत जानकारी दिए ।