तेह्रथुम / स्थानीय तहका कार्यपालिकासँग न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी शुरु भएको छ । नगरपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले म्याङलुङमा गोष्ठी शुरु गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै जनप्रतिनिधिले नागरिकको भविष्यप्रति जिम्मेवार भएर काम गर्नुपर्ने म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले जोड दिए । नागरिकको भविष्य नै जनप्रतिनीधिको भविष्य भएकाले नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्ने नगर प्रमुख तुम्बाहाम्फेले बताए ।

उनले विकासको कामसँगै जनताको न्याय सम्पादनको काम समेत जिम्मेवार भएर गर्नुपर्ने बताए । उनले भने ‘विकास र समृद्धि नागरिकको पहिलो अङ्ग हो, जनप्रतिनीधिले जिम्मेवार भएर काम गर्नुपर्छ ।’
स्थानीय न्यायिक समितिलाई क्षेत्राधिकारको बारेमा जानकार नहुँदा नीतिगत रूपमा विवाद व्यवस्थापनको काम हुन नसकेको उप(प्रमुख तथा न्यायिक समितिकी संयोजक पार्वती सानु डाँगीले बताइन् । उनले भनिन् ‘प्राविधिक ज्ञान र जनशक्तिकोे अभावले विवाद व्यवस्थापनको काम नीतिगत रूपमा हुन सकेको छैन ।

मानव अधिकार मञ्चका कार्यक्रम संयोजक पारस राईले न्यायलाई सर्वसाधारणको पहुँच योग्य बनाउन सुझाउँदै, न्याय सम्पदानको काम गरेर जनप्रतिनिधिले हार्न नुहुने बताए । तीन दिनसम्म चल्ने कार्यशालामा न्यायिक समितिको भूमिका मेलमिलाप सम्बन्धी कानून अधिकारका बारेमा जानकारी गराइने कार्यक्रम आयोजक संस्था मानव अधिकार मञ्चले जनाएको ।

नगरपालिकाले न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने ऐन बनाएपनि कार्यविधि ऐन बनाउन नसक्दा न्याय सम्पादनको कामलाई नीतिगत रूपमा व्यवस्थापन गर्न नसकेको बताए । कार्यशालाको सहजिकरण पारस राई र याम माबोहाङले गरिरहेका छन् ।