पथरी / पथरीशनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई वडाध्यक्षले उचालेर आफूप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण गरेको भन्दै  नगरका उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ती जनाएका छन् ।
 
नगरको ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सोही वडा सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको विषयमा न्यायिक समितिमा उजुरी परेपछि छलफल भएको थियो ।
 
सोही वडाका सदस्य अम्वरबहादुर बराइली, तुलसादेव दर्जी र दिलु मगरले न्यायिक समितिमा उजुरी गरेपछि सो विषयमा माघ १५ गते भएको छलफल भएको थियो । छलफलमा सदस्यहरुसँगको सल्लाहविना योजना अन्यत्र सारिएको पुष्टि भएको थियो । ‘कोशेली चोक पश्चिम पैनीबाट होक्सेलीको घरपूर्व ड्रेन निर्माण तथा साघुँरो पैनी कल्भर्टमा ह्युमपाइप’ शिर्षकको योजनालाई उल्टै वडाध्यक्षले उपभोक्ताहरुलाई उचालेर विवादित बनाउन प्रयास भएको जनाइएको छ ।
 
सो विषयलाई लिएर सोही दिनको कार्यपालिका वैठकमा समेत वडाध्यक्ष भण्डारीले अभद्र व्यवहार प्रस्तुत गर्दै आफु विरुद्ध लगातार लाञ्छना लगाएको र सोही प्रकारको अनर्गल समाचार सम्प्रेषण भएपछि आपत्ती जनाउनु परेको उपप्रमुख वास्तोलाले बताइन् । उनीले कार्यपालिका बैठक र त्यसपछिको छलफलमा अन्यत्र सारिएको योजना भएपनि सम्पन्न भएको कामको रकम निकासा नरोकिने भन्दै तत्काल निकासाको प्रक्रिया अघि बढाइएको प्रष्ट्याएका थिए । उजुरी परेकाले त्यसबारे बुझ्न ३ दिनको समय पर्खिनु परेको अवस्थालाई जनताको काममा बाधा पुर्याएको भन्दै आफु विरुद्ध मिडियावाजी भएकोमा आपत्ती जनाएको उनीको भनाइ छ । 
 
उनीले क्याम्पस प्रशासनको सिफारिसमा दिइने भनी कार्यपालिका वैठकमै निर्णय भएअनुसार पथरी क्याम्पसका ११ छात्रालाई वितरण गरिएको साइकलको विषयलाई समेत उपप्रमुखको मनोमानीका रुपमा जोडिएकोप्रति पनि आपत्ती प्रकट गरेका छन् ।