पथरी / किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले १ नम्बर प्रदेशको नाम किरात राख्न अपिल गरेका छन् । केन्द्रले विज्ञप्ती निकाल्दै प्रदेशको नाम भूमि पहिचानको आधारमा नराखिए निराशा पैदा हुने बताएको छ ।
किरात पहिचान कुनै जाति नभएर भूगोल, इतिहास र सभ्यता भएको विज्ञप्तिमा उल्लेख छ । मोर्चाका अध्यक्ष राजन किराती (बासु) र महासचिव अर्जुन किरातीले विज्ञप्ति जारी गरेर अपिल गरेका हुन् । पूर्व माओवादी केन्द्र(हाल नेकपा)सम्बद्ध मोर्चाद्वारा प्रकाशित विज्ञप्तिमा माघ तेस्रो साताबाट हुने प्रदेश सभाले नाम र प्रदेशको स्थायी राजधानी बारे टुङ्गो लगाउदै गर्दा सो आग्रह गरेको हो । ‘नेपालको पूर्वी भूभागको नाम राख्दा भूगोल, इतिहास र सभ्यताको आधारमा किरात राख्न प्रदेश संसद, सरकार तथा सभा सदस्यहरुलाई विज्ञप्ति मार्फत अपिल गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ‘प्रदेशको नामकरण गर्न र अन्य कार्य सम्पादनमा सहज होस भन्ने उदेश्यले २०७४ मंसिर ८ गते पनि विज्ञप्ति प्रकाशन गरी वाम गठबन्धनका उमेद्वारहरुलाई भोट हाल्न जनतालाई आग्रह गरेका थियौं ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै दुई तिहाई बहुमत रहेको बेला प्रदेशको नाम किरात राख्न नसके कार्यकर्ताहरुमा निराशा पैद ाहुन सक्ने मोर्चाको विज्ञप्तिमा उल्लेख छ । तीनै तहमा कम्युनिष्ट पार्टी सरकार भएको बेला अल्पसंख्यक, उत्पीडित समुदाय र महिला अधिकारको कार्यान्वय हुन नसकेमा भविश्यमा प्रदेशमा निराशा पैदा हुन्छ । भूगोलको पहिचानको आधारमा किरात नाम राखिएन भने जनआक्रोस बढ्ने उनीहरुको दावी छ ।
मोर्चाले यस अघि प्रदेश सरकार प्रमुख शेरधन राई, सभामुख प्रदिप भण्डारी, प्रतिपक्ष नेपाली कांग्रेस, पार्टीका केन्द्रीय नेताहरु केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवालगायतलाई भेटेर किरात प्रदेश बन्नु पर्ने आधारहरु सहितको पत्र बुझाएका थिए ।