पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरेस्थित पथरी वहुमुखी क्याम्पसका अखिलका विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग शैक्षिक तथा भौतिक व्यवस्थापनका १८ बुँदे ज्ञापनपत्र पेश गरेका छन् ।
वुधवार जनक पोखरेलको अगुवाईमा गएको विद्यार्थीहरुको टोलीले आफ्ना मागका सम्वन्धमा क्याम्पस प्रमुख चेतन पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि स्वस्थ्यकर जीवन व्यवस्थापन र मनोरञ्जनात्मक अध्ययन वातावरण, गुणस्तरीय शिक्षाका लागि मल्टिमिडियामार्फत क्युएए विधि अविलम्ब आरम्भ गर्नुपर्ने, कम्प्युटर अध्ययनका लागि ल्यावको व्यवस्था, कक्षाकोठा थपको माग अघि सारिएको छ ।

अलग्गै प्रशासन ब्लक निर्माण, प्राविधिक विधिबाट अध्ययन–अध्यापन र शोध अनुसन्धानमा आधारित शैक्षिक क्यालेण्डर जारी, क्याम्पस हाताभित्रको सरसफाई, अध्ययन अद्यावधिकता निर्धारणका लागि नियमित आन्तरिक परीक्षा प्रणाली सञ्चालनको थप माग राखिएको छ ।

सर्वोत्कृत मापदण्ड निर्धारण गर्दै औसत लक्षित विद्यार्थीलाई अनिवार्य र पारदर्शी छात्रवृत्तिको प्रबन्ध, त्रिभुवन विश्वविद्यालयले जारी गरेको शैक्षिक क्यालेण्डरलाई अनिवार्य कार्यान्वयन्यस क्याम्पसको हकमा अनिवार्य कार्यान्वयन, क्याम्पस हाताभित्रै प्राथामिक स्वास्थ्य उपचारकक्षको व्यवस्था पनि हुनुपर्ने उल्लेख छ ।

अन्य मागमा, प्रत्येक विषय र विषयसँग सम्बन्धित यहीँ वर्ष प्रकाशित पुस्तकहरू उपलब्ध गराउनुपर्ने, पठनपाठनका अतिरिक्त सिर्जनशील साहित्य, मनोरञ्जन, खेलकूदका सामग्रीहरू उपलब्ध गराइनुपर्ने, वाचनालय तथा विद्युतीय पुस्तकालय समेतको व्यवस्था हुनुपर्ने जनाइएको छ । औसत कमजोर विद्यार्थीका लागि छात्रवृत्तिसरह अतिरिक्त ट्युशन कक्षाका साथै शारीरिक अशक्त अवस्थालाई हेरेर अपाङ्गमैत्री भ¥याङ, कक्षाकोठा र पठनपाठन विधि अवलम्बन गर्न माग गरिएको छ ।

०६४ सालमा स्थापित नगरकै एकमात्र सामुदायिक क्याम्पसले अवको शैक्षिक शत्रबाट स्नातकोत्तर कक्षा सञ्चालनको अनुमति पाएकोप्रति विद्यार्थीहरुले वधाई ज्ञापन समेत गरेका छन् । जनक पोखरेलका साथै प्रकाश चौहान, नीता राई, मुकेश राई, विवेक न्यौपाने, उज्वल लकान्द्री, एलिना दियाली, कविता चापागाईं, अपेक्षा गुरागाईं, नविनजंग कार्की, कमला दंगाल, द्रोण सम्वाहाम्फे, कुवेर पौडेल, रीता परियार र धनकुमार मगरले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।