भोजपुर (गोगने) । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेशको नाम र राजधानी चाडै तोकिने बताएका छन् ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिका–८ मा निर्माणाधिन रहेको हेलिप्याण्डको शिलान्यास गर्ने क्रममा मंगलबार मन्त्री पोखरेलले प्रदेश १ को नाम र राजधानी चाडै तोकिने बताएका हुन् । उनले चैत्र मसान्तभित्र सबै कानून बनाइसकेर त्यही कानूनका आधारमा अघि बढ्ने बताए ।

उनले देशमै स्वरोजगार बनाउनका लागि बिना धितो ऋण उपलब्ध गराउँदै रोजगारीको अवसर सिर्जना गर्ने बताए । सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने पनि उनले बताए । जनताले कम्युनिष्टलाई विश्वास गरेर दिएको अभिमतलाई धूलोमा मिल्न नदिने प्रतिवद्धता गरेका छन् ।

‘तपाईहरूको विश्वासलाई हामी धूलोमा मिल्न दिँदैनौं ।’ उनले सम्बोधनका क्रममा भने, ‘त्यो विश्वासलाई कायम राख्दै सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउदै छौं ।’ उनले जनतासँग निर्वाचनताका गरेको कबुलहरूलाई अहिले पनि नभुलेको बताउँदै ती बाचा÷कबुललाई पूरा गरिने बताए । उनले चीनसँग १५ वटा नाकाहरू खुल्ला गर्नका लागि दुवै देशबीच सहमति र सम्झौता बनिसकेकाले अब भारतसँगको मात्रै परनिर्भरता हट्ने दाबी गरे ।

चार वर्षको अवधिमा पलायन भएका उद्योगलाई पुनस्र्थापना गर्ने र नयाँ उद्योग खोलेर युवाहरूलाई नेपालमै स्वरोजगार बनाउने उनले दाबी गरे । ‘बाध्यताले रोजगारका लागि बिदेश जाने अवस्थाको अन्त्य हुन्छ ।’ उनले भने, ‘पयालन भएका उद्योगधन्दालाई स्थापित गर्छौ र यही नै युवाहरूलाई स्वरोजगार बनाउने छौं ।’

स्थानीय दयाकृष्ण न्यौपानेको २ रोपनी जग्गामा व्यक्तिगत रूपमा हेलिप्याड निर्माण गरिहेको हो । न्यौपाने बन्धु समाजले साताव्यापी गरेको धार्मिक तथा स्वास्थ्य शिविरको समापनको अवसरमा पहिलो पटक मावली गाउँ गोगने पुगेका रक्षामन्त्री पोखरेलले भोजपुरको सैनिक क्याम्पको भ्रमणसमेत गरेका थिए ।

यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई विकास र समृद्ध बनाउँदै नमूना प्रदेश बनाइने दाबी गरे । उनले आफूले जनतासँग गरेका बाचाहरू विस्तारै पूरा गर्ने प्रतिवद्धतासमेत गरेका थिए । मुख्यमन्त्री राई सोही क्षेत्रबाट निर्वाचित बनेका थिए । उनले तीन तहको सरकार बनेपछि देश नयाँ यूगमा प्रवेश गरेको बताए । जनताले बनाएको संविधानले जनतालाई नै मालिक बनाएको उनले बताए । प्रदेश १ लाई पर्यटकीय प्रदेशको रूपमा निर्माण गर्न प्रदेश सरकार लागि परेको बताए ।

त्यसक्रममा भोजपुर–घोडेटार–दिङ्ग्ला सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन भइसकेको बताए । त्यस्तै भोजपुर रङ्शाला निर्माणका लागि डिपिआर तयार भइसकेकाले शिलान्यास चाडै हुने उनले बताए । त्स्तै टेम्केको भ्यू टावर पनि शिलान्यासको चरणमा रहेको उनले बताए । त्यसक्रममा एक दर्जन बढीलाई सम्मानित गरिएको थियो ।