बिर्तामोड/ झापाको अर्जुनधारा नगरपालिकामा खोला उत्खननको ठेक्का पाएको एसयुएस कन्टूक्सनले खोलाजन्य सामग्री निकासीमा रोक लगाउने चेतावनी दिएको छ । नगरपालिकासँग भएको सम्झौता बमोजिम उत्खनन गर्न नपाएपछि ठेक्का पाएको निर्माण कम्पनिले खोलाजन्य सामग्री उत्खननमा रोक लगाउने चेतावनी दिएको हो ।
अर्जुनधारा नगरपालिका भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलाको बिभिन्न १९ स्थानबाट २ लाख ४० हजार ६ सय घनमिटर सामग्री संकलन गर्न अनुमति दिएको थियो । नगरपालिकाले माघ ७ गते निर्माण कम्पनिलाई खोला उत्खनन् गर्नका लागि अनुमतिपत्र समेत दिएको थियो ।
नगरपालिकाको अनुमतिपत्र पाएको निर्माण कम्पनिले खोला उत्खनन शुरु गरेसँगै स्थानीयले बिरोध शुरु गरेका थिए । स्थानीयले उत्खननको बिरोध गर्दै वडा कार्यालयमा तालाबन्धी समेत गरेका छन् । स्थानीयको बिरोधका कारण निर्माण कम्पनिले उत्खनन गर्न रोकेको छ ।
सहमति बमोजिम खोलाजन्य सामग्री संकलन गर्न नपाएपछि निर्माण कमपनिले २४ घण्टाभित्र सामग्री संकलनको वाताबरण मिलाउन नगरलाई पत्र लेखेको छ ।
निर्माण कम्पनिले तोकेको समयसिमाभित्र समाधान निस्किन नसकेको अवस्थामा कर संकलन कार्य बन्द गर्ने कम्पनिले जनाएको छ । कर संकलन बन्दसँगै खोलाजन्य सामग्रीमा रोक लगाउने चेतावनी निर्माण कम्पनिले दिएको छ । कम्पनिका संचालक उत्सब ढकालले दर्ता गरेको निवेदनमा सामग्री संकलनको वाताबरण मिलाइदिन अनुरोध गरिएको छ ।