धरान । संसद्ले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको विरोधका वावजुद पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

यही विधेयकको विरोधमा प्रा.डा. गोविन्द केसीले १६ औं सत्याग्रह गरिरहेका छन् । १५ औं सत्याग्रहपछि गरिएका सहमति लागू नगरेको भन्दै डा. केसीले इलामबाट १६ औं सत्याग्रह शुरु गरेका थिए । यता नेपाली काङ्ग्रेसले पनि विधेयक हुबहु लागू हुनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएको थियो ।

यसअघि सोमबार र मङ्गलबारको संसद् अवरुद्ध पारेको भए पनि शुक्रबारको संसद्बाट विधेयक पारित गरिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्मा पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको थियो ।

काङ्ग्रेसलगायतका सांसद्ले भने नाराबाजीलाई तीव्र बनाएका थिए । अवरोधपछि पनि संसद् बैठकले पेलेरै भए पनि विधेयक अघि बढाएको थियो । त्यसक्रममा सभामुख कृष्णबहादुर महराले पटक–पटक विरोध नर्गनका लागि आग्रह गरेका थिए । तर, विपक्षीले उनको आग्रहको वेवास्ता गरेपछि सभामुखले प्रक्रिया अघि बढाएका थिए ।

प्रतिपक्षी सांसद् गगन थापाले डा. केसीलाई सरकारले मार्ने नियतले विधेयक ल्याएको दाबी गरेका थिए । सरकार पक्षधरले भने डा. केसीले हाल ल्याउन लागेको विधेयक नपढी नै सत्याग्रहमा बसेको आरोप लगाउँदै आइरहेको छ ।