बिर्तामोड/ संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बैशाखदेखि अन्तराष्ट्रिय बिमानस्थलमा भारी बोकेर हिड्नुपर्ने समस्याको अन्त्य हुने बताएका छन् ।

बिमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माण कार्य भइरहेको जानकारी दिदै आगामी बैशाखबाट भारी बोकेर ह्निुपर्ने समस्या अन्त्य हुने दावी मन्त्री अधिकारीले गरे । सुरक्षाको कारण देखाउँदै सरकारले बिमानस्थलको गेटबाट ट्याक्सी हटाएपछि अहिले त्रिभुवन बिमानस्थलमा यात्रुले ‘लगेज’ बोकेर गाडीसम्म लैजानु परिरहेको छ । खासगरी बैदेशिक रोजगारबाट फर्किएका नेपालीले ठुलो भारी बोक्नुपरेको भन्दै मन्त्री अधिकारीको आलोचना गरेपछि उनले समस्या समाधानका लागि बैशाखसम्म पर्खिन आग्रह गरेका हुन् ।

मन्त्री अधिकारीले नेपालगञ्ज र महेन्द्रनगरको हवाई रुट प्राप्त गर्न समय लाग्ने भएकाले भैरहवा रुट दिन भारतसाग समन्वय गरिएको जानकारी दिएका छन् । उनले भैरहवामा रुट निर्धारणका लागि आइकाओले काम गरिरहेको पनि बताए । उनले महेन्द्रनगर र भैरहवाको रुटका लागि पनि भारतसँग कुरा भइरहेको जनाए ।

उनले भने, ‘ती रुटका लागि टुंगोमा पुग्न अझै केही पटक बैठक गर्नुपर्ने आवश्यक्ता छ ।’ नेपालले विराटनगर, जनकपुर, नेपालगञ्ज तथा महेन्द्रनगर रुट भारतसंग मागेको थियो । तर भारत भैरहवा रुट दिन सहमत भएपछि त्यस्का लागि काम अगाडि बढाइएको उनले बताए । उनले भने, ‘रुटका कारण भैरहवा विमानस्थल सञ्चालनमा कठिनाइ होला कि भन्ने कुरा अब समाधान भएको छ ।’

झापाको चन्द्रगढी बिमानस्थलबाट रात्री सेवा शुरु गर्न लागिएको बताउँदै मन्त्री अधिकारीले बिमान खरिद, बिमानस्थलको स्तरोन्नतीमा मन्त्रालयको ध्यान केन्द्रित भएको बताए । उनले आफु मन्त्री भएपछि बिभिन्न २६ वटा बिमानस्थल सञ्चालनमा आएको दावी गरे । नेपालले मनाउन लागेको भ्रमणबर्ष २०२० का लागि सम्पुर्ण बिमानस्थलहरु सञ्चालनमा ल्याउने रणनीतिका साथ अघि बढिरहेको अधिकारीले जानकारी दिए । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

मन्त्री अधिकारीले वाइडबडी बिमान खरिद प्रकरणमा छानविनबाट जोसुकै दोषी देखिए पनि कार्वाही हुनुपर्ने बताए । उनले भने, ‘यो विषय अहिले छानविनकै प्रक्रियामा छ, जो दोषी देखिन्छ कार्वाही हुनुपर्छ भन्ने मेरो कुरा हो ।’