धरान । अवैध रुपमा काठ खरिद गरेको आरोपमा धरान प्रहरीले काठसहित फर्निचर सञ्चालकलाई प्रक्राउ गरी सेक्टर वन कार्यालय धरानमा बुझाएको छ ।
धरान ११ हुलाकी चौकमा राजकुमार भनिने रुद्रकुमार सार्कीले सञ्चालन गरेको फर्निचर पसलबाट मंगलबार विहान ७ बजे प्रहरीले १३ किवी बराबरको ४२ थान सखुवाका काठ पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए ।
प्रक्राउ परेको काठ उदय सामुदायिक वन उपभोक्ता समितिका केही पदाधिकारीहरुले बिक्री गरेको स्थानीयले बताएका छन् । धेरै अगाडिदेखि समितिका केही पदाधकारीले अवैध रुपमा यस्ता काठहरु विक्री वितरण गरेको पाइएको उनीहरुको दाबी छ । नाम नखुलाउने शर्तमा स्थानीय एक उपभोक्ताले भने ‘पहिलादेखि नै अवैध रुपमा उपभोक्ता समितिले त्यहाँमात्र हैन अन्यत्र पनि अवैध विक्री गर्ने गरेका छन्, वन कार्यालयले गम्भीरतापूर्वक अनुसन्धान ग¥यो भने पत्ता लागिहाल्छ ।’
यता सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले वन उपभोक्ताका पदाधिकारीहरुबाट हो होइन भन्ने कुरा अुनसन्धान भइरहेको बताए ।