बिर्तामोड / किर्ते विवरण पेश गरेर निकालेको नागरिकताको आडमा एकजना भारतीय नागरिकले आफ्नै बहिनीमाथि अंश मुद्दा लडिरहेको पाइएको छ ।
भारत दार्जिलिङका उमेश ताम्राकारले विर्तामोड निवासी आफ्नै बहिनीलाई आमाले बकसमा दिएको जग्गामा दाबी हालेर अदालतमा मुद्दा लडिरहेको उनका ज्वाईं सुधीर बस्नेतले जानकारी दिएका छन् । ताम्राकारले किर्ते नागरिकता लिएको बिषयमा ब्लाष्ट टाइम्स दैनिकले २०६८ मङसिर २८ गते ‘दुई दर्जन नक्कली नागरिकता वितरण’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
यस्तो थियो घट्ना
सन् १९८६ मा दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनका बेला बस्नेतकी सासु ताम्राकारकी आमा छोरी कहाँ आएर बसेकी थिइन् । त्यो समयमा उनी विरामी पनि थिइन् । त्यो बेला छोरीकहाँ आएर बस्दा छोरीले स्याहार सुसार गरेपछि त्यसपछि उनी छोरीसंगै बसिन् ।
छोरीकहाँ बस्दा ताम्राकारकी आमा (जो नेपाली नागरिक हुन) ले पाँच हजार रुपैयाँमा जग्गा किनिन् । पछि सोही जग्गा उनै ताम्राकार बाहेक सबै परिवारका सदस्यको सहमतिमा छोरीलाई २०६४ साल माघ १० गते बकस पास गरिदिएकी थिइन् । पछि उनको मृत्यु छोरीकै घरमा भएको थियो । सोही जग्गाको मुद्दा अहिले सर्वोच्च अदालतमा बिचाराधीन छ ।
उनका ज्वाईं बस्नेतले ’अब त अति भयो’ भन्दै पत्रकारसामु उपस्थित भएर आफ्ना दुखेसो पोखेका हुन् । उनले भने, ’किर्ते विवरण पेश गरेर बहिनी ज्वाईंमाथि दिएको दुःखका कारण म तपाईंहरुसमक्ष आएको हुँ ।’
ताम्राकारलाई कारवाही गर्न बेवास्ता
सोही किर्ते नागरिकताको विषयलाई लिएर ताम्राकारलाई विपक्षी बनाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्दा समेत परेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले ताम्राकारलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय झापालाई पत्र लेखेपछि प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय सुनसरीमा हाजिर हुने सर्तमा उनी जमानीमा छुटेका थिए । तर, न हालसम्म उनी सुनसरी प्रशासनमा हाजिर हुन पुगे न उनलाई प्रहरी पुनः पक्राउ गरेको उनका ज्वाईं बस्नेतले बताए । बस्नेतले दोहोरो नागरिकताधारी ताम्राकारलाई पक्राउ गरेर कडाा कारवाही गर्न माग पनि गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा किर्ते नागरिकता मुद्दाको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दिइएको छ । बस्नेतका अनुसार उक्त मुद्दालाई कुनै पनि न्यायिक निकायले प्राथमिक्तामा राखेको छैन ।
भारतीय नागरिक भएको प्रमाण पेस
ताम्राकार भारतीय नागरिक भएको प्रमाणका रुपमा बस्नेतले उनको रासन कार्ड तथा दार्जि्लिङ अदालतमा उनले ’म भारतीय नागरिक हुँ’ भनेर गरेको कबुलियतनामा समेत पत्रकार सामु राखेका थिए । उनले भने, ’प्रहरीले समेत उनको नागरिकता भएको विवरण अनुसार धरान ५ मा उनको बसोबास नरहेको लिखित पत्र दिएको छ । मैले सबै प्रमाण नेपालका सबै निकायमा पु¥याएको छु । तर पनि न्यायिक निकायले किन हेरिरहेको छैन, अचम्म लागेको छ।’
ताम्राकारले २०४६ साल असार २२ गते निकालेको नागरिकताको अनुसूचि करिब १३ महिना अघि भरेको बस्नेतले बताए ।
बस्नेत र ताम्राकारबीचको मुद्दा अहिले सर्वाेच्च अदातलमा बिचाराधीन रहेको छ । झापा जिल्ला अदालत र पुनरावेदन इलाममा ताम्राकारले जितेको मुद्दा बस्नेतले सर्वाेच्चमा पुनरावेदन गरेका हुन् ।