धरान / सर्प डसाईको अनुसन्धानसम्म भइरहेको पूर्वको रेफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्प डसाईबाटै ल्याएको एक बिरामी विगत ५ महिनादेखि उपचाररत छन् ।

भदौं १२ गते सर्पको डसाईबाट उपचारका लागि प्रतिष्ठान ल्याइएकी सुनसरी वराहक्षेत्रकी ४८ वर्षीया गङ्गादेवी राई तामाङ हालसम्म पनि उपचाररत छिन् । उनी अहिले पनि अर्धचेत अवस्थामा मेडिसिन युनिट ३ को बेड नम्बर ३ मा उपचाररत छिन् । पीडित तामाङकी छोरी प्रतीक्षा तामाङले चिकित्सकको लापरबाहीका कारण आमा गङ्गादेवी राई यो अवस्थामा पुगेको दाबी गर्छिन् । तर, सर्पको क्षेत्रमै विगत ४० वर्षदेखि उपचाररत कोशी अञ्चल अस्पताल आकस्मिक विभागका प्रमुख डा. रघुनन्दन अधिकारी सर्पको डसाईबाट यतिका अवधिसम्म उपचार हुने सम्भावना निकै कम रहने बताउँछन् । उनका अनुसार सर्पले डसेको १० मिनेट पछिदेखि नै लक्षणहरू देखाउन थाल्ने भएकाले तत्काल उपचार नगरे बिरामी तलमाथि हुन्छ । उनले यति लामो उपचारमा अन्य कारणहरू हुन सक्ने सम्भावना व्यक्त गरे ।

प्रतीक्षाका अनुसार आमालाई सर्पले डसेको २० मिनेटभित्रै आफूहरूले प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएका थियौं । आकस्मिक कक्षमा जुनियर रेजिडेन्ट डा. महेश सिलवालको टोलीले आमाको अवस्था गम्भीर भइसक्दा पनि एन्टी स्नेक भेनम (प्रति जैविक विष) को प्रयोग नगरी सामान्य ‘एडरेनालाइन’ प्रयोग गरेका कारण आमालाई ‘कार्डियाक एरेस्ट’ आएको उनी बताउँछिन् । उनी आफू पनि स्टाफ नर्स पढेकी हुन् ।

‘१३ मिनेट सीपीआर दिएकोथ्यो । १३ मिनेटसम्म ब्रेनले अक्सिजन नपाएपछि हाइपोक्सिया भएछ’ उनले भनिन्, ‘आइसियुमा राख्नुपर्छ भन्दै विराटनगरको ग्रीनक्रसजस्तो सानो हस्पिटलमा रेफर गरिदिएको थियो । तर, सामान्य हस्पिटलमा राख्दा उपचार सम्भव नहुने भएपछि विराट नर्सिङ होममा एक साता राखेपछि मात्रै आमाको आँखा खुल्यो । २१ दिन भेन्टिलेटरमा राखेर उपचार गराउँदा पनि अवस्था गम्भीर नै रहेको थियो । र, अहिले पनि त्यही अवस्था छ ।’

सर्पसम्बन्धी नै उपचार गरिरहेका विशेषज्ञ चिकित्सकहरू भने मानिसमा अन्य समस्या भएको अवस्थामा मात्रै त्यो हुन सक्ने बताउँछन् । ‘प्रत्येक व्यक्तिको लक्षणहरू फरक–फरक हुन्छ । कुन बेला टोकेको हो, के भएको हो भनेर गहिरो अनुसन्धान गर्नुपर्छ ।’ विशेषज्ञ चिकित्सक सूर्य पराजुली भन्छन् । बीपी प्रतिष्ठानमै प्रा.डा. सञ्जीव शर्मा सर्पसम्बन्धी विगत लामो समयदेखि अनुसन्धान गरिरहेका छन् । उनले सर्पले टोकेको व्यक्तिको रगतबाटै कुन सर्पले टोकेको हो भन्नेसम्मको अनुसन्धान गरिरहेका छन् ।

अहिले बाघे सर्पले टोकेको अवस्थामा पत्ता लगाउने किट नै तयार गरिरहेका छन् । ‘फिल्डमा टेष्ट हुन बाँकी छ । रियल पेसेन्टमा गरेपछि मात्रै प्रमाणित हुन्छ ।’ उनले फोनसम्पर्कमा भने । तर, यो केशबारे उनी अनभिज्ञ छन् । डा. सञ्जीव शर्मा सम्मिलित एक टोलीले गरेको अनुसन्धानमै नेपालमा वार्षिक २० हजार मानिसलाई सर्पले टोक्ने गर्दछ भने त्यसमध्ये १ हजारको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

प्रतीक्षा भने चिकित्सकको लापरबाहीका कारण नै आमा गम्भीर अवस्थामा पुगेको ठान्छिन् । उनले सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै अस्पतालमा दुई पटक निवेदननै दिइसकेकी छन् । तर, सुनुवाइ नभएको उनको आरोप छ । उनले २०७५ कात्तिक १४ गते उपचार खर्च तथा क्षतिपूर्ति दिलाइ पाउँ भन्दै निवेदन दिएकी थिइन् । दुई दिनपछि डाक्टरलाई बोलाउने भनेर प्रशासनले भने पनि हालसम्म नझिकाएको उनले बताइन् ।

pratixa
पीडित प्रतीक्षाले बीपी प्रशासनलाइ दिएकाे निवेदन ।

उनका अनुसार पुष ३ गते निवेदन दिँदा सहायक अस्पताल निर्देशक डा. विकास साहले डा. महेस सिलवाललाई जतिसक्दो चाडो झिकाउनका लागि विभागीय प्रमुखलाई निर्देशन दिएको एक महिना बित्दा पनि नझिएको बताइन् । ‘पछि बुझ्दा हाम्रो सरोकारको विषय होइन भन्दै डा. विकासले भन्नुभयो ।’ उनले भनिन् ।

डा. विकास साहका अनुसार अस्पतालको तर्फबाट गर्ने सेवासुविधा सबै नै दिएको दाबी गरे । ‘पीडितलाई चित्त नबुझेमा छानविन कमिटी गठन गराएर छानविन गर्दा हुन्छ ।’ उनले भने, ‘मैले आफ्नोतर्फबाट समन्वयकारी भूमिका खेलिदिएको हो ।’ डा.साहले लापरवाही गरेको भन्दै डाक्टरमाथि आरोप लगाउने र कमजोरी लुकाउन सहयोग गरेको भन्ने बुझाइ पीडितमा भएको उनले बताए । ‘हामीले भन्दै आएका छौं छानविन कमिटी बनाउनुस्, त्यसले डिजिसन गर्छ । लापरवाही प्रमाणित नभएसम्म हामीले गरेको सहयोगलाई कमजोरीको रूपमा बुझिदिनुभएन ।’ उनले भने, ‘डाक्टरले गल्ती गरेको छैन भनेर हामी भन्दैनौं । कम्तीमा छानविन होस् ।’ प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले पनि पीडितको मान्छे र अस्पतालको प्रतिनिधि राखेर छानविन गर्न तयार रहेको बताए । ‘कम्तिमा उसको मान्छे र हाम्रो मान्छे राखेर छानविन कमिटी नै बनाइदिऊ । हामी त्यो चाहान्छौं’ उपकुलपति प्रा.डा. रौनियारले भने ।

पीडित गङ्गादेवी राई तामाङका श्रीमान गौरी लामाले सर्पले नै टोकेर नै प्रतिष्ठान ल्याइएको बताए । तर, प्रतिष्ठानका जुनियर डाक्टरहरूले सिनियर डाक्टरहरूसँग परामर्श नगरेका कारणले विष फैलिएर आफ्नो श्रीमतीको यो अवस्था भएको उनी बताउँछन् । उनले विराट नर्सिङ होममा २ महिनासम्म उपचार गराएको र त्यसपछि प्रतिष्ठानमा ल्याएको बताए । ‘घोपा क्यापमा जुनियर डाक्टरले सिनियरलाई नबोलाउनु चाहिँ हेलचेक्राइ भएको देखिन्छ ।’ उनले भने, ‘वेटिङमा राख्दा सर्पको विष सबैतिर फैलियो । अनि रिफर गरिदियो ।’ उनले आफ्नी छोरी प्रतीक्षाले सर्पको लागि विशेष उपचार हुने नेपाली सेनाको पूर्वी पृतना हुँदा हुँदै अन्यत्र लानु कमजोरी गरेको दाबी गर्छन् । तर प्रतिष्ठानले तीन महिनादेखि निःशुल्क नै उपचार गरिदिइरहेको उनी बताउँछन् ।