धरान । अवैध रूपमा खोला उत्खनन् गर्ने क्रममा धरान ५ नम्बर वडाध्यक्षको जेसिबी पक्राउ परेको छ । 
 
इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गागिट्टी निकाल्ने गरेको अवस्थामा वडाध्यक्ष सन्तोष लिम्बूको को १ क २४३४ नम्बरको जेसिबी पक्राउ गरेको हो । पक्राउ परेको जेसिबीलाई कारबाहीको लागि प्रहरीले सेक्टर वन कार्यालय धरान तीनकुनेलाई जिम्मा लगाएको इप्रका धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । 
 
जेसिबीका चालक र टिप्पर भने भागेको डिएसपी तिम्सिनाले जानकारी दिए । अँधेरी खोला राष्ट्रपति चुरे क्षेत्र अन्तर्गत पर्ने भएकाले उक्त खोलामा ठेक्का लगाउने गरिएको छैन । उक्त खोलाबाट वर्षेनी ट्याक्टरलगायतका सामग्री पक्राउ पर्ने गरेका छन् । प्रतिबन्धित क्षेत्रबाट उत्खनन् हुने गरेको भन्दै स्थानीयले गुनासो गरेका थिए ।
 
उक्त गुनासोका आधारमा वडाध्यक्ष लिम्बूलाई इप्रका धराननै बोलाएर उत्खनन् नर्गनका लागि भनिएको डिएसपी तिम्सिनाले बताए । पक्राउ गरिएको जेसिबीलाई वन ऐन २०४९ अनुसार कारबाही गरिने  सव डिभिजन वन कार्यालयका रेञ्जर ईश्वरी बास्तोलाले जानकारी दिए ।
 
यता वडाध्यक्ष लिम्बूले खोलामा तारजाली लगाएको क्षेत्रमा पुर्न गएको बेला प्रहरीले नियतवश आफ्नो जेसिबी पक्राउ गरेको दाबी गरे । अँधेरी खोलाको चार स्थानमा तटबन्ध गरेको र उक्त तटबन्धपछि धरान उपमहानगरसँग बील भर्पाइ लिने क्रममा तारजाली लगाएको क्षेत्रमा नपुरेसम्म भर्पाइ नदिने भनेपछि पुर्नका लागि जेसिबी लिएर गएको बताए ।
 
‘प्रहरीले खै के नियतले मेरै गाडीलाई पक्राउ ग¥यो’ उनले फोनसम्पर्कमा भने–‘मेरो दाबी चाहिँ प्रहरीले जर्वजस्ती पक्रेको हो हाम्रो गाडी ।’ उनले जेसिबीसँगै अन्य चारवटा ट्याक्टर पनि पक्राउ गरेको तर, जेसिबीमात्रै वनमा बुझाएको भेटिएको बताए । ‘यो के गर्न खोजेको हो । अरु ट्याक्टर चाहिँ त्यहाँ देखिएन । मेरो जेसिबीमात्रै छ ।’ उनले भने ।