धरान । चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको उपचारका लागि बीपी प्रतिष्ठानबाट हिडेको टोलीलाई गृहले रोकेको भन्ने खबर हल्लामात्रै भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले बताएका छन् ।

उनले डा. केसीको उपचारको लागि बीपी प्रतिष्ठानका टोली तयारी अवस्थामा रहेको बताए । उनले गृहबाट कुनै पनि चिकित्सकलाई रोकेको भन्ने खबर हल्ला मात्रै रहेकाले त्यसका पछि नलाग्न सबैलाई आग्रह गरे । उनले भने,–‘यो सबै हावा कुरा हो । यस्तो हल्ला कहाँबाट आउँछ । हाम्रो टोली तयारी अवस्थामा छ । बीपीले पनि डा. केसीको उपचारका लागि आइसियु तयारी अवस्थामा राखेको छ ।’

डा. केसीको आइतबार बिहानदेखि अचानक स्वास्थ्य बिग्रिएपछि इलाम अस्पतालमा भर्ना गरिएको छ । जहाँ आइसियु नभएकाले पनि प्रतिष्ठानले त्यसखाले प्रबन्ध गरिरहेको हो । प्रदेश १ को रेफरल सेन्टरको रूपमा रहेको बीपीले डा. केसीको उपचारमा सबै खाले सेवा प्रदान गर्न तयार रहेको उपकुलपति रौनियारले बताए ।

‘यहाँ सिफ्ट गर्दा पनि हुने गरी तयारी अवस्थामा छौं । हाम्रो आवश्यकता हुने बित्तिकै हामी त्यहाँ पुग्छौं ।’–उनले भने ।  यहाँ सार्दा पनि भेन्टिलेटर, बेडहरू तयारी अवस्थामा रहेको उनले बताएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले विशेषज्ञ टोलीलाई रोकेको भन्ने खबर आफूलाई केही पनि जानकारी नभएको बताए । ‘मलाई केही थाहा छैन त । नजानु भन्ने मेरो जानकारीमा छैन । हैन, हैन त्यस्तो भनेको भए मलाई पनि खबर आउनुपर्ने हो । छैन छैन ।’ प्रजिअ उप्रेतीले फोनसम्पर्कमा भने । उनले बीपीको टिम पठाउन लागेको भन्ने खबर आफूलाई अस्पतालबाट आएको बताए । गृहले रोकेको भन्ने हल्लामात्रै भएको उनले बताए ।