पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले ब्लाष्ट दैनिकका सम्वाददाता भूपेन्द्र तिम्सिनामाथि दुर्व्यवहार गरेका छन् ।
नगरपालिकाको कार्यालय सार्ने बिषयमा ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरीशनिश्चरेको तर्फबाट विहीवार दिउँसो पथरीशनिश्चरे नपाका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि समाचारमा बिकेको, हाम्रो समाचार नलेख्ने, नगरपालिकाको हितमा मात्र समाचार लेख्ने आरोप लगाउँदै दुर्व्यवहार गरेका छन् ।
तिम्सिनाले सुरेन्द्र चापागाईं र रमेश राईसँग समितिको कागजात माग्दा ‘हाम्रो समाचार नलेख्ने मान्छेलाई किन दिनु’ भन्दै अपशब्द बोलेका थिए । भट्टराईले यसअघि अन्य ठाउँमा पनि मानमर्दनका कुरा गर्दै आएको तिम्सिनाले जनाए ।
पत्रकार तिम्सिनामाथि भएको दुर्व्यवहारको घोर भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ मोरङ, सञ्चार क्लव नेपाल उर्लावारी, नेपाल पत्रकार मञ्च मोरङ र नेपाल जनजाती आदिवासी पत्रकार महासंघ मोरङले छुट्टाछ्टै विज्ञप्ति निकाल्दै विरोध गरेको छ । महासंघका अध्यक्ष वन्धु पोखरेल, सञ्चार क्लबका अध्यक्ष सरोज वस्नेत, नेपाल जनजाती आदिवासी पत्रकार महासंघ मोरङको अध्यक्ष दिनेश सुब्बा र पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले विज्ञप्ति जारी गरेर दुव्यवहार गर्नेलाई कारवाहीको माग गरेका छन् ।
आफुलाई सामाजिक अगुवा वताउने निज भट्टराईले समितिका सदस्य तथा नगरपालिका जनप्रतिनिधिसामु सार्वजनिक रुपमा चरित्र हत्या गर्नु स्वतन्त्र र व्यवसायिक पत्रकारितामाथिको आक्रमण भएको पत्रकारजन्य संघ संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा, कुनै पनि प्रसंग विनाको सन्दर्भमा कुरा जोड्दै गालीगलौच गर्नु निन्दनीय र आपत्तीजनक कार्य भएकोमा घोर भत्र्सना गर्दै भट्टराईमाथि कारवाहीको माग गरिएको छ ।