धरान / मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई धरान प्रहरीेले पक्राउ गरेको छ । मोबाइलको कल डिटेलका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का बिनोद लिम्बूसहित पाच जनालाई पक्राउ गरेको हो । उनीहरूले धरान–१७ स्थित सर्दु खोलामा मंसिर २७ गते सुनसरी कोशी गाउँपालिका-६ का बेचन मियाको को २ प ७६२० नम्बरको मोटरसाइकल, १ थान मोबाइल र १३ सय रुपैया नगद लुटपाट गरेका थिए ।

त्यस्तै मोटरसाइकलमा सवार भारत अररिया बस्मतियाका सबुर मन्सुरीले बोकेको १ थान मोबाइलसमेत लुटपाट गरेका थिए ।  लुटपाटपछि उनीहरूले मोबाइल बिक्री गरेका थिए । उक्त मोबाइल धरान–१५ का दिपेश परियारले बोकेको पत्ता लागेपछि प्रहरीले पुष १६ गते परियारको घरबाट बरामद गरेको छ ।

उनीहरूले चोरी गरेको मोटरसाइकलको पाटपुर्जा खोलेर धरान–१० का लडन अन्सारीको मोटरसाइकल ग्यारेजलाई दिएको बयान दिएपछि उक्त ग्यारेजबाट इञ्जीन बरामद गरिएको इप्रका धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार इञ्जीनबाहेक अन्य पाटपुर्जा भने धरान-१२ स्थित महेश विकको न्यू पाथीभरा वर्कसपमा फेला पारिएको थियो ।

शेर्पा र लिम्बूसहित लडन अन्सारी, सुनसरी वराहक्षेत्र–५ का प्रकाश चौधरी र मोरङ विराटनगर–६ का महेश विकलाई पक्राउ गरी म्याद थप गरिएको डिएसपी तिम्सिनाले जानकारी दिए । यसैबीच सोमबार प्रहरीले धरान–११ बाट दिनेश भट्टराईलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शङ्काको आधारमा चेकजाच गर्दा धरान–११ मङ्गलबारेबाट उनको साथबाट १ सय थान नाइट्रोसन ट्याब्लेट बरामद गरिएको छ ।