भद्रपुर/ सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीले कपडा बोकेको गाडी भगाएको छ ।

झापाको उत्तरी क्षेत्र इलाम र झापाको सीमास्थित नेपाल प्रहरीको चेकपोष्टले सशस्त्र प्रहरी बल १ नम्बर वाहिनी सुनसरीबाट खटिएका दुई सादा पोसाकका प्रहरीलाई नियन्त्रणमा लिएर गाडी छाडेको हो ।
उक्त चेकपोष्टमा असइसहित ५ प्रहरी कार्यरत छन् ।

इलामको पशुपतीनगरबाट मे १ ज १६५३ नम्बरको पिकअप गाडीमा कपडा ल्याउँदै गरेको सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरीका दुई प्रहरीले सोमबार राति करिब ११ बजे नेपाल प्रहरीको चेकपोष्ट नजिकैबाट गाडी नियन्त्रणमा लिएका थिए ।

गाडीलाई अनुसन्धानका लागि लैजानका लागि इलामको पशुपतीनगर आइतबारे र झापाको शनिश्चरेबाट थप शसस्त्र प्रहरीको टोली आउनु अगावै मापसे गरेका प्रहरीहरूले उल्टो प्रतिप्रश्न गर्दै गाडी छाडेको ती सशस्त्र प्रहरीको भनाइ छ ।

उनीहरूका अनुसार मापसे गरेका जनपथ प्रहरीले तिमीहरु को हौ ? किन गाडी रोकेको ? भन्दै मोटरसाइकलको साँचो खोसेर व्यापारीलाई दिएको थियो ।  आफूहरूले परिचय पत्र देखाउँदै ‘हामी सशस्त्र प्रहरी कर्मचारी हौ, १ नम्बर बाहिनीबाट आएको विश्वास लाग्दैन भने डिआइजी साँपलाई सोध्नु भन्दासमेत चेकपोष्टका असइ प्रल्हाद बोगटीले उल्टो केहीबेर नियन्त्रणमा लिए व्यापारीलाई छाडेको उनीहरूको दाबी छ ।

उनीहरूका अनुसार बोगटीले समेत मादक पदार्थ गरेका थिए । त्यो समयमा इलाम र झापातर्फबाट आएका सशस्त्रको थप टोलीले व्यापारीलाई चारैतर्फ खोजीतलास गर्दा पनि गाडी फेला नपरेको उनीहरूले बताए ।

‘एउटा प्रहरीले अर्को प्रहरीलाई सहयोग गर्नुपर्नेमा उल्टै नियन्त्रणमा लिएर तस्करीलाई सघाएँ ।’ उनीहरू भन्छन् ।

सूचना पाएर गएको सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिएर थप सुरक्षाकर्मी मगाउँदा चेकपोष्टमा रहेका नेपाल प्रहरीका कमाण्डरले आफ्नो जिम्मेवारी पूरा नगरेको सशस्त्र प्रहरी बल १ नम्बर वाहिनी सुनसरीका डिआइजी मन्दीप श्रेष्ठले बताए ।

प्रहरीले सहयोग गर्नुपर्नेमा उल्टै गाडी भगाएकाले कारबाहीमा तानिने डिआइजी श्रेष्ठको भनाइ छ । ‘गाडी नियन्त्रणमा लिएको जानकारी आएको थियो, केहीबेरमा प्रहरीले भगायो भन्ने सूचना प्राप्त भयो ।’ उनले फोनसम्पर्कमा भने ।

यस घटनाको विषयमा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले आफूले यसविषयमा सम्बन्धित चेकपोष्टका प्रहरीलाई कारबाहीका लागि तानिसकेको जानकारी दिए । उनले पहिलो पटक बुझ्दा आफूलाई जानकारी नभएको बताए पनि पछि फोन गरेरै चेकपोष्टका असइ बोगटीलाई अनुसन्धानका लागि जिल्ला एसपी कार्यालयमा तानिएको बताए ।

प्रहरीले भगाएको गाडी र कपडा भद्रपुरका व्यापारीको रहेको स्रोतले जनाएको छ । गाडीमा अन्दाजी २० देखि २५ पोका सामग्री रहेको बताइन्छ । स्रोतका अनुसार करिब २० लाख मूल्य बराबरको सामग्री रहेको थियो ।