बिर्तामोड/ पहिला ब्यापार गरे । पहाडबाट तरकारी ल्याएर झापामा बिक्रि गरे । अर्काकोमा जागिर पनि गरे । त्यतिले पनि नभएपछि बैदेशिक रोजगारमा गए । बैदेशिक रोजगारबाट पनि भनेजस्तो पैसा कमाउन सकिन ।

नेपाल फर्किए । नेपाल फर्किएपछि यस्तो कारोबारमा सजिलै पैसा कमाउन सकिन्छ भनेर लागेका हौं । पैसा कमाएर एउटा गतिलो घर बनाउने, सुख सयलको जिन्दगी बिताउने सपना पुरा गर्न यस्तो पेशा गरेका हौ । अब त त्यो सबै सपना, सपना मात्र भयो ।

ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित पक्राउ परेपछि ताप्लेजुङ जिल्लाको थुम्बेदिनमा घर भई झापाको अर्जुनधारा १० मा डेरा गरी बस्ने भिमबहादुर अधिकारीले प्रहरीसमक्ष स्विकार गरेको अपराधको अभिब्यक्ति यो थियो ।

अधिकारीले बिभिन्न पेशा गर्दापनि पैसा कमाएर घर बनाउन नसकेपछि लागुऔषधको कारोबारबाट पैसा कमाउने योजना बनाएको बताएका प्रहरीको भनाई छ । लागु औषधको कारोबारबाट पैसा कमाउदै एउटा घर बनाउने अधिकारीको सपना प्रहरीले पक्राउ गरेपछि तुहिएको छ ।

प्रहरीले दमक नगरपालिका वडा नं ६ बस्ने संग्रामसिंह आङदेम्बे लिम्बुलाई शनिबार बिर्तामोडबाट पक्राउ गरेको थियो । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले दिएको सुचना अनुसार जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय अनारमनी र लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टा बाट सादा पोशाकमा प्रहरी टोलीले आङदेम्बेलाई पक्राउ गरेको थियो ।

आङदेम्बेको साथबाट ३१२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु एकथान, र मे. १० प ६३० नम्बरको बुलेट मोटरसाईकल समेत बरामद भएको झापाका एसपी भिम ढकालले जानकारी दिए ।

आङदेम्बेसँग गरिएको सोधपुछको क्रममा बरामद भएको लागु औषध अर्जुनधारा १० मा डेरा गरी बस्ने भिम बहादुर अधिकारी, सोही ठाँउ बस्ने ओममाया खतिवडा अधिकारी र कचनकवल २ बस्ने रेवतीमाया डाँगीबाट खरिद गरी बेचबिखन गर्न ल्याएको बयान दिएको पत्ता लागेको एसपी ढकालले जानकारी दिए ।

पक्राउ परेका महिलाले भारतबाट नेपालमा लागुऔषध ल्याउने गरेको खुलेको बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

आङदेम्बेको बयानका आधारमा अधिकारीको कोठा पुगेको प्रहरीले २ सय २ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । अधिकारीको घरमा दुधको भाँडोमा डुवाएर ब्राउन सुगर राखेको अवस्थामा फेला परेको अनुसंधानमा सक्रिय लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाका सई अनुप निरौलाले जानकारी दिए ।

घर खानतलासी गरिसकेपछि पनि ब्राउन सुगर फेला नपरेपछि दुध राखेको भाँडोमा डुवाएर राखेको अवस्थामा फेला पारेको उनले बताए । प्रहरीले उनीहरुको साथबाट १३ हजार रुपैयाँ समेत फेला पारेको जनाएको छ ।

बरामद भएका लागुऔषध काठमाण्डौमा बिक्रि गर्न लाने गरेको समेत प्रहरीले जनाएको छ । बरामद लागु औषध अलिहे सम्मकै ठुलो परिमाणको भएको प्रहरीले जनाएको छ ।

यसअघि १ सय १७ ग्राम सम्म ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । परिमाणका आधारमा पक्राउ परेका अभियुक्तलाई १५ बर्षदेखि जन्मकैद र ५ देखि २५ लाख रुपैंयाँसम्म जरिवाना लाग्ने प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तमाथि म्याद थप गरी अनुसंधान जारी राखेको बताएको छ ।

झापा प्रहरीले यस आर्थिक वर्षमा ९९ जना मानिस सहित डाईजापाम, लुपिजेसिक,फेनारगन, नाईट्रोसन ब्र्राउन सुगर, गाँजा, स्पास्मो पोक्सिभन, चरेश लगायतका सामग्री बरामद गरेको जानकारी दिएको छ ।

भारतीय ४ जना, महिला ८ जना सहित ९९ जना लागु औषध कारोबार गरेको अभियोगमा पक्राउ परेको प्रहरीको भनाई छ ।