पथरी । गुरुङ समुदायको महान चाँड ल्होसार कार्यक्रममा वक्ताहरुले गोरु काट्नेलाई पक्रिने नीतिको विरोध गरेका छन् । आइतबार मोरङ पथरीशनिश्चरे—१, स्थित तमू बौद्ध गुम्बाको आयोजनामा भएको सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएको हो ।

वक्ताहरुले शुभकामना मन्तब्य दिने क्रममा गोरु काटेको अभियोगमा पक्राउ गरेर मुद्धा चलाउने प्रकृयाको अन्त्य हुनुपर्ने माग गरेका छन् । उनिहरुले जातीय सांस्कृती अनुसार गोरु काट्नेलाई काट्न दिनुपर्ने बताएका थिए ।

ल्होसार, साकेला, चासोक तङ्नाम, माघी, माघे संक्रान्ति लगायतको चाँडहरुमा दिइन्दै आएको राष्ट्रिय विदा पुनः स्थापना गर्न समेत माग गरेका छन् । संघीय गणतन्त्र स्थापना र स्थानीय सरकार गठनपछि लक्षित वर्गको लागि छुटिन्दै आएको रकम कटौती प्रति पनि वक्ताहरुले विरोध जनाउदै स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

सरकारले प्रदेशको नाम पहिचानको आधारमा राख्न अस्वीकार गर्ने, क्रिश्चियन पास्टरले वितरण गरेको होली वाइन भोज खाएर झुम्ने र नेपालका आदिवासी जनजातिहरुको राष्ट्रिय विदा कटौटी गर्ने, धर्म निरपेक्ष घोषित राष्ट्रमा गोरु काटेको आरोपमा किरात, मुश्लिम, बौद्ध मार्गी लगायतलाई पक्रेर थुन्ने कार्य तत्काल बन्द गरिनु पर्ने आदिवासी जनजाति समुदायको माग रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले नगरमा भने लक्षित वर्गको बजेट निरन्तर रुपमा वितरण गर्दै आएको बताए । संघीयता कार्यान्वयनको दिशामा रहेको हुदा विस्तारै समस्या समाधानहुने प्रमुख राईले बताए । स्थानीय सरकारले सवै जातजाति, भाषा, धर्म र संस्कारले समान रुपमा व्यवहार गर्ने बताएका थिए ।

कार्यक्रममा तमू छोज धी जिल्ला उपाध्यक्ष प्रमे तमू, किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघा, नेपाल आदिवासी जनजाति महासंघ नगर सचिव देवेन्द्र ओनेम, नगर १ नम्बर वडा सदस्य धनमाया गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसैगरी पूर्वाञ्चल आइडल पदम मगर, गायक देव गुरुङ, नन्दु गुरुङ र देवेन्द्र राईले गीत र नृत्य कलाकारहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए । ल्होसारको अवसरमा विभिन्न खेलकुद कार्यक्रमको आयोजना भएको थियो ।

खेल विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको गुम्बाको लेखा संयोजक हेमभक्त तमूले बताए ।
गुरुङ समुदायको चाँड ल्होसारको अवसरमा राष्ट्रपति विद्यादवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विज्ञप्ति प्रकाशन गरेर शुभकामना मन्तब्य दिएका थिए ।

1 13