पाँचथर/ किर्ते नागरिकता प्रकरणमा मुछिएका तीन जना सरकारी कर्मचारीलाई अदालतले धरौटि तारेखमा छाड्न आदेश दिएको छ ।
फाल्गुनन्द गाउँपालिका-२, इम्बुङका देवेन्द्र शिवालाई किर्ते गरी नागरिकता दिएको काण्डमा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, तत्कालीन इम्बुङ गाविस सचिव प्रकाश ताम्ली र सुरेश सुबेदी अदालतमा मुद्धा परेको थियो ।
उनीहरुलाई जिल्ला न्यायाधिश मनोज केसीले जनही ३० हजार रुपैंयाँ धरौटीमा छाड्न आदेश दिएको हो । प्रतिवादीहरु बुधबार अदालतमा हाजिर भएको र सोही दिन बयान दिइ धरौटिमा छाड्न आदेश भएको जिल्ला अदालतका श्रेष्तेदार राजकुमार निरौलाले बताए ।
एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिवा कार्तिक दोस्रो साता पक्राउ परेका थिए । उनीमाथि शंका लागि घरमा छापा मार्ने क्रममा उनको देबेन्द्र शिवा, अंकित शिवा र गौरब नेम्बाङ नामका तीन वटा नागरिकता भेटिएको थियो ।
उनले ती नागरिकता २०६३, २०७० र २०७२ मा लिएको भेटिएको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा ती कर्मचारीको संलग्नता रहेको भन्दै प्रहरीले अदालतमा मुद्धा दर्ता गराएको थियो ।
प्रहरीले तत्कालीन नागरिकता फाँटका कर्मचारी प्रकाश अधिकारी र राजकुमार न्यौपानेको समेत संलग्नता रहेको भने पनि सरकारी वकिल कार्यालयले मुद्धा अभियोजन गर्दा फाँटवालालाई प्रतिवादी नबनाएको हो । उनीहरुको हकमा मुद्धा चल्ने वा नचल्ने दोधार हुँदा उच्च सरकारी वकिल कार्यालय इलाममा थप विवरण पठाइएको निमित्त जिल्ला न्याधिवक्ता पारशमणी पोखरेलको भनाई छ ।
प्रहरीले शिवा सहित धरौटिमा छाड्ने आदेश पाएका तीन जना, दुई जना तत्कालीन फाँटवाला, किर्ते नागरिकता सनाखतमा संलग्न दुर्गाभक्त नेम्बाङ, बाबु भएर सनाखत गर्ने राजेन्द्र नेम्बाङ गरी आठ जनालाई प्रतिवादी बनाएको थियो ।
जसमध्ये फाँटवाला अधिकारी र न्यौपानेलाई सरकारी वकिल कार्यालयले प्रतिवादी नै बनाएन भने प्रतिवादी बनाइएका तीन जना कर्मचारी धरौटी तारेखमा छुटेका हुन् ।