धनकुटा/ नेपाल तामाङ घेदुङ साँगुरीगढी गाउँपालिकाको मङ्गलबार सम्पन्न प्रथम अधिवेशनले मणि स्याङ्बो तामाङलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ । 

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सीताराम थिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम गाउँपालिका अधिवेशनको बन्द सत्रले उपाध्यक्षमा यमनकुमारी गोले तामाङ, सचिवमा नन्दसिंह ख्युङ्वा तामाङ, सह–सचिवमा कुमार लोप्चन तामाङ र कोषाध्यक्ष सानु जिम्वा तामाङलाई चयन गरेको छ ।

तेह्र सदस्यीय गाउँपालिका घेदुङको कार्य समिति सदस्यहरूमा अशोक पाख्रिन तामाङ, अशोक स्याङ्वो तामाङ, पदमबहादुर घिसिङ तामाङ, मानबहादुर योञ्जन तामाङ, अम्बरबहादुर स्याङ्वो तामाङ, लोकबहादुर पाख्रिन तामाङ, खड्गबहादुर लोप्चन तामाङ र देशकुमार तामाङलाई सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष मणि स्याङ्वो तामाङले बताए ।

उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङ धनकुटाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सीताराम थिङ तामाङले आफ्नो भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न अहिलेको तामाङ समुदायको युवा पुस्ता लागिपर्नु पर्नेमा जोड दिए । उनले मुलुकमा सङ्घीय लोतान्त्रिक गणतन्त्र आए पनि यहाँका आदिवासी जनजातिहरूको मातृ भाषाको संरक्षणमा सरकारले सहयोग गर्न नसेकको आरोप लगाए ।

उनले अबको पुस्ताले आफ्नो समुदायको भाषा संस्कार संस्कृति संरक्षण गर्न दत्तचित्त भएर नलाग्ने हो भने पहिचान नामेट भएर जाने बताए ।

साविक डाँडाबजार गाविसका नेपाल तामाङ घेदुङका अध्यक्ष पदमबहादुर घिसिङ तामाङको अध्यक्षतमा सम्पन्न प्रथम अधिवेशनको उद्घाटन सत्रमा शिक्षासेवी एवम् तामाङ समुदायका विद्वान कृष्ण ब्लोन तामाङ, आदिवासी जनजाति महासङ्घ धनकुटाका सह–सचिव सुरेश याम्फू, तामाङ पत्रकार सङ्घ प्रदेश–१ समितिका अध्यक्ष सन्तवीर लामा, किरात राई यायोक्खाका साँगुरीगढी गाउँपालिका इकाई अध्यक्ष जगत राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

ऐतिहासिक साँगुरीगढी गाउँपालिका अधिवेशनको जिल्ला घेदुङ धनकुटाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सीताराम थिङ तामाङ (नाङसल) ले बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।