पाँचथर/ सोमबारदेखि हराइरहेकी मिक्लाजुङ गाउँपालिका–१, सराङडाँडाँकी एक नाबालिका भेटिएकी छिन् ।
मदरल्याण्ड बोर्डिङ स्कुलदेखि घर फर्किने क्रममा बीच बाटोबाटै हराएकी आठ वर्षीया भावना राईलाई प्रहरीले फेला पारी अविभावकको जिम्मा लगाएका हुन् । अविभावकले प्रहरी समक्ष खोजतलासका लागि दिएको हुलियासहितको निवेदनको आधारमा खोजतलास गर्दा बालिकालाई सराङडाँडाँकै नरेन्द्रबहादुर बस्नेतको घरमा भेटिएको प्रहरीले जनाएको छ ।
बस्नेतका अनुसार सोमबार साँझ साँढे पाँच बजे बाटोमा रुँदै हिडिरहेको अवस्थामा बस्नेतका श्रीमतीले भेटी बालिकालाई आफ्नो घर लगेका थिए । बालिकालाई प्रहरी हवल्दार रामकुमार यादव नेतृत्वको टोलीले फेला पारी अविभावकको जिम्मा लगाइएको प्रहरी चौकी रवीले जनाएको छ ।































