दमक/ सोमबार मोरङको उर्लाबारीमा नगरपालिका–७ स्कुलडाँडामा आगलागीमा परी एक महिलाको जलेर मृत्यु भयो । उर्लाबारीमै गत मंसिर ४ गते स्थानीय भक्तिराम अधिकारीको पसलसहितको घरमा क्षति पुग्यो ।
एक महिनाको बीचमा उर्लाबारीमा एक महिलाले ज्यान गुमाइन् भने ५० लाखभन्दा बढीको क्षति भयो । यो क्षतिका पछाडि स्थानीय तहमा चाहिने अतिआवश्यकीय सामग्री दमकल अभाव नै प्रमुख बन्यो । दुई वटा घटनालाई सरसर्ती केलाउँदा प्राकृतिक विपद्लाई न्यूनीकरण गर्नका लागि स्थानीय तहले कार्ययोजना अघि बढाएको पाइदैन ।
जनप्रतिनिधि आएको १७ महिना बितिसकेको छ । तर, दमकल खरिदमा ध्यान गएको पाइदैन । उल्टो जनप्रतिनिधि सुविधा भोगी बनेका छन् । आफ्ना लागि लाखौं मूल्यको गाडी खरिद गरेको स्थानीय बताउँछन् । दकमल अभावका कारण नै जलेर मृत्यु हुन पुगेको मृतक रीना थापाकी छिमेकी देवी खड्काले बताइन् ।
जनप्रतिनिधि आएको १७ महिना बितिसक्दासमेत दमकल खरिद गर्न योजना अघि नबढाएको भन्दै स्थानीय बासिन्दाले आक्रोस पोखे ।
यस्तै प्रकृतिको घटना मंसिर ९ गते झापाको शिवसतासीमा पनि भयो । जहाँ आगलागीमा परेर एकैघरका चार जनाको जलेर मृत्यु भएको थियो । शिवसतासी नगरपालिकामा पनि दमकल नहुँदा अन्य स्थानबाट दमकल पुग्नका लागि बढी समय लाग्दा बढी क्षति भएको स्थानीयबासीको भनाइ छ ।
सरकारले नयाँ घोषणा गरेको अधिकांश नगरपालिकाकामा अति आवश्यकीय बारुणयन्त्र (दमकल) छैनन् । १५ वटा स्थानीय तह रहेको झापा जिल्लामा आठवटा नगरपालिका छन् । यी मध्ये दमक, गौरादह, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकामात्रै दमकल छ । शिवसतासी, अर्जुधारा, कन्काई नगरपालिकामा भने दमकल छैनन् ।
नयाँ घोषणा भएका मध्ये गौरादह बाहेकका नगरपालिकामा दमकल छैन । स्थानीय तहका जन प्रतिनिधिले लाखौ मुल्यका बिलासी गाडी खरिद गरेका छन् । तर नगरपालिका भित्र अति आवश्यक पर्ने दमक खरिदका लागि बजेट बिनियोजन गरेका छैनन् ।
मोरङ जिल्लाको उर्लाबारी, पथरीशनिश्चरे नगरपालिकामा दमकल छैनन् । दमकल किन्न र पाल्न सक्ने क्षमता नभएकाले हामीले तत्काल किन्ने योजना नबनाएको उर्लाबारी नगरपालिकाका प्रमुख मेयर खड्ग फागोले बताए ।
गरभित्र दमकल नहुदा टाढाबाट जान ढिलो भएपछि धेरै क्षति हुने गरेको छ । सुख्खा मौषम सुरु भएसँगै आगलागीका घट्नामा समेत बृद्धी हुने सम्भावना बढी छ । तर, दमकल नहुँदा थप जोखिम बढ्ने सम्भावना बढेको छ । गृहमन्त्रालयका यस वर्ष मंसिर महिनामा आगलागीमा परेर ११ जनाले ज्यान गुमाएका छन् । भने ३४ जना घाइते भएका छन् ।
एक महिनाको अवधिमा देशभर २ सय ७९ वटा आगलागीका घटना भएका छन् । यी घटनामा ३२ करोड ६३ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको गृह मन्त्रालय अन्तर्गत राष्टिूय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।































