राजविराज/ प्रहरीसहित विद्युत चुहावट नियन्त्रणका लागि खटिएको विद्युत कर्मचारीको टोलीलाई देखेर हृदयघात भई मंगलबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ । राजगढ गाउँपालिका २, की ४० वर्षिया सवितादेवीको यसरी मृत्यु भएको हो ।
प्रहरीसहितको टोलीले घरमा पसेर विवाद गर्न थालेपछि त्रसित भएर सविता ढलेकी थिईन् । उनलाई हृदयघात भएको उनका पति अनिल झाले बताए ।
सविताको मृत्युपछि आक्रोसित स्थानीयवासीले पोष्टमार्टमका लागि शव उठाउन दिएका छैनन् । प्रहरीले घट्नाको जिम्मेवारी लिएर परिवारलाई राहत र क्षतीपुर्ति दिने ग्यारेण्टि नभएसम्म शव उठाउन नदिने वडा अध्यक्ष ललितनारायण सिंहले बताए । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले सविता पहिले देखिनै मुटु रोगी रहेको भन्ने जानकारी आएको बताए ।
उनीमाथि कुनै तनाब दिने काम नभएको भन्दै उनले विद्युत चोरी नियन्त्रणका लागि नै प्रहरीसहितको टोली खटिएको दाबी गरे ।
उता गाउँपालिका प्रमुख परमानन्द यादवले छापामार सैलीमा एक्कासी हतियारसहितको प्रहरी घरमा घुसेका कारण वरण्डामा सुतिरहेकी सविता बेहोस भएर ढलेको बताएका छन् । टोलीले विद्युत चुहावट नियन्त्रणका क्रममा कमलपुरबाट ९ जनालाई नियन्त्रणमा लिएको छ ।
चोरी नियन्त्रणका क्रममा पाहुना आएका व्यक्तिलाई समेत टोलीले पक्राउ गरेको स्थानीयले आरोप लगाएका छन् । भारतको जिरोगाबाट स्थानीय दुखि भन्ने कमलदेव यादवको घरमा पाहुना आएका चन्दनयादवलाई समेत टोलीले पक्राउ गरेर लगेको वडा अध्यक्ष ललितनारायण सिंहले जानकारी दिएका छन् ।