मधुमल्ला/ दक्षिणी इलामको चुलाचुली–६ चुरे वन क्षेत्रबाट वन कर्मचारीहरूले नियन्त्रणमा लिएको साखुवा जातको १ सय ३८ थान काठ घाटगद्दीबाटै गायब भएको छ ।

गत कात्तिक १५ गते चुलाचुली–६ इलामको साक्फारमा पर्ने एकपाइले सामुदायिक वनबाट बेवारिसे अवस्थामा फेला परेको काठ घाटगद्दीबाटै गायब भएको स्थानीय बताउँछन् । उक्त काठ चुलाचुली–६ तोरीबारीका कृष्ण बुढाथोकीको रहोबरमा जिम्मा लगाइएको थियो ।

यता बुढाथोकीले आफ्नो रहोबरमा बुझाएको काठ आफूसँग सुरक्षित रहेको बताए । तर, केही काठ ढुवानी गर्दा लागेको खर्च व्यवस्थापन गर्नका लागि करिब १ सय क्युबिक फुट काठ बिक्री गरेर हिसाव मिलान गरिएको बताए ।

उनका अनुसार वन कर्मचारीहरूले ढुवानी गर्दा प्रयोग गरेको साधनको ज्याल नतिरेका कारण आफूले बिक्री गरेर तिर्नु परेको दाबी गरे । यस विषयमा तोरीबारी रेन्जपोस्टका अधिकृत डिल्लीकेशर लम्सालले आफूहरूले मुचुल्का बनाई बुढाथोकीको रोहबरमा जिम्मा लगाएकाले नियम विपरीत बिक्री भएको पाइए कारबाहीको भागिदार बन्ने बताए ।

उनले हालसम्म आफूहरू घाटगद्दी गरिएको क्षेत्रमा नपुगेको र बाहिरबाटै सुन्नमा आएकाले के भएको हो भन्ने यकिन नभएको प्रष्ट पारे ।

काठ बरामद गरिएको एकपाइले सामुदायिक वन समूहका अध्यष बिक्रम राईले अवैध कार्यमा संलग्नलाई कानूनी कारबाहीमा ल्याउनका लागि वन प्राविधिकसहितको टोलीलाई काठ बरामद गरी प्रक्रिया अघि बढाउन भनेको बताए ।

स्थानीय भने बुढाथोकी र तोरीबारीका रेञ्जपोष्टका अधिकृत लम्सालको मिलेमतोमा बिक्री गरेको आरोप लगाउँछन् । बुढाथोकी रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पनि हुन् । तर, अधिकृत लम्सालले भने कर्मचारीलाई नै जानकारी नभएकाले कर्मचारीको संलग्नता हुने आधार नभएको बताए ।

उनले कर्मचारीको कुनै संलग्नता नभएको प्रष्ट पारे । इलाका वन कार्यालय चुलाचुलीका प्रमुख गङ्गा महतोले यस विषयमा आफूलाई कुनै सूचना नभएकाले बुझेर मात्रै बताउने जनाए । वन कार्यालय मातहत आएको काठ बिक्री गरिनु रहस्यमय भएको नाम नछाप्ने सर्तमा स्थानीय बताउँछन् ।