विराटनगर / निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारण बिना दुई बर्ष नपुग्दै सरुवा गर्न पाईदैन । तर, विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा गरिएको छ ।
नियम बिपरित गरिएको सरुवाको बदर गर्न माग राख्दै संजेलले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेका छन् । श्रम अधिकार लागू हुन नदिने रोजगारदाता, ट्रेड युनियन प्रतिनिधि र भ्रष्ट कर्मचारीहरू मिलेर नियम विपरित आफुलाई सरुवा गरेको उनले आरोप लगाएका छन् । बरुवा तत्काल बदर नगरे आफु अदालतमा गएर कानूनी संघर्ष गर्ने समिेत उनले चेतवनी दिए ।
२०७५ असोज २५ गते श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रूपमा हाजिर भएका उपसचिव संजेलको शीप विकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्नेगरि अकास्मात सरुवा भएको हो । श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयको प्रशासन शाखाले पुस ६ गते व्यवसायिक तथा शीप विकास तालिम प्रतिष्ठान ईटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्ने गरि सरुवा गरिएको पत्र पठाईएको उनले बताए ।
श्रम कार्यालयमा हाजिर भएदेखी नै सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गराउन र श्रम ऐन २०७४ लाई पुर्ण रुपमा कार्यान्व्यन गराउन आफु सक्रृयता पुर्वक लागिरहेको अवस्थामा आफुलाई नियम बिपरित अढाई महिनामै आकस्मात बदनियत पुर्वक सरुवा गरिएको अधिकृत सञ्जेलकाे आरोप छ ।
के गरेका थिए सञ्जेलले
यस कार्यालयमा आएपछि सञ्जेलले नक्कली जलबिद्युत्त आयोजना र उद्योगमा पारिश्रमिक नदिनेलाई पारिश्रमिक दिनकालागि फैसला गर्ने अनि बैदेशिक रोजगारका नाममा ठगी गर्नेहरुलाई धमाधम पक्राउ गराएर कार्वाही गराउन थालेका थिए । यस बाहेक योगदानमा आधारित सामाजिक सूरक्षा योजना लागू गराउन र श्रम ऐन अनुसार मजदुरको न्युनतम पारिश्रमिक दिलाउन पनि सञ्जेलले थालनी गरेका थिए ।
यसका लागि उनले सुनसरी, मोरङको औद्योगिक करिडोरमा संचालनमा रहेका उद्योगहरुको अनुगमन गरेर प्रतिबेदन तैयार गरि सुरक्षा योजना र ऐन कार्यान्वयन गर्न उद्योग र कम्पनीहरुलाई धमाधम पत्राचार समेत गर्न थालेका थिए ।
श्रम कार्यालयमा आउनु भन्दा पहिले क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगरमा निर्वाचन अधिकारीको रुपमा रहेर तीनवटै तहको निर्वाचन मितव्ययी र बिबादरहित ढंगले सफलता पुर्वक सम्पन्न गराएका थिए । त्यहाँ रहँदा उनले गुणस्तरहिन भवन निर्माण गरेको एक करोड रुपैया भुक्त्तानी दिन नमान्दा उनको काज सरुवा गरिएको थियो । तर पछि उनी अदालतमा रिट हालेर पुन दरबन्दिमा फर्किएका थिए । सञ्जेलले तीन तहको निर्वाचनको समयमा जिल्ला भ्रमण गर्दा कुनै अतिरिक्त्त भत्ता लिएका थिएनन भने चालक समेत प्रयोग नगरी गाडी आफैले कुदाउने गरेका छन् ।