दमक/ झापाको गौरादह नगरपालिकाका जनप्रतिनिधिहरूले विभिन्न नाममा अचाक्ली खर्च गरेको भेटिएको छ । आर्थिक वर्ष २०७५/०७६ को चालु खर्च अन्तर्गत नगरसभाबाट आफै पास गरेर उनीहरूले आर्थिक लाभ लिने गरेको तथ्य फेला परेको हो ।
नगरसभाले पदाधिकारीको पारिश्रमिक तलब भनेर प्रदेश ऐन अनुसार ३७ लाख २० हजार रुपयाँ तोकेर निर्णय गरेको छ । प्रदेशले पदाधिकारीको पारिश्रमिक मनलागि तोक्न नपाउने व्यवस्था गरेपछि उनीहरुले नगरको अनुमानित चालु खर्चको बजेट बिनियोजनमा बिभिन्न घुमाउरो बाटो अपनाएर सुविधा लिने गरेका हुन् ।
कुन शिर्षकमा कति खर्च
आर्थिक वर्ष ०७५/०७६को लागि नगरसभाबाट पास गरिएको अनुमानित चालु खर्चको तथ्याङ्क अनुसार पदाधिकारी बैठक भत्तामा ३५ लाख, पदाधिकारी अन्य सुविधा शीर्षकमा ८ लाख, इन्धनमा १४ लाख, जनप्रतिनिधि क्षमता अभिवृद्धी तालिम भनेर ४ लाख, पदाधिकारी अवलोकन भ्रमणमा ७ लाख, अनुगमन मूल्याङ्कनमा १५ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाको वेबसाइटमा राखिएको अनुमानित चालु खर्चको तथ्याङ्क विश्लेषण गर्दा तोकिएको पारिश्रमिकभन्दा उनीहरूले दोब्बर बढी सेवा सुविधा लिनपाउने भएका हुन् । कार्यालय प्रयोजनका लागि १४ लाख, पदाधिकारीका लागि १४ लाख र अन्य प्रयोजन शीर्षकमा ३ लाख गरी इन्धनमा मात्रै कुल ३१ लाख विनियोजन गरिएको छ ।
त्यस्तै भ्रमण शीर्षकमा ३३ लाख, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ११ लाख र अन्य भ्रमण खर्च भनेर १ लाख गरी कुल ४५ लाख बिनियोजन गरिएको छ । भत्तामा चालु खर्चको शीर्षकमा फिल्ड भत्ता भनेर १ लाख, कर्मचारी बैठक भत्तामा २ लाख, अन्य भत्ता शीर्षकमा ५ लाख र पदाधिकारी भत्तामा ३५ लाख, कर्मचारी प्रोत्साहन भत्ता पुरस्कारमा ११ लाख गरी जम्मा भत्ता शीर्षकमा ५४ लाख विनियोजन गरिएको छ ।
चालु खर्चको बजेट बिनियोजन गर्दा कर्मचारीले पाउने पारिश्रमिक तलब, पोसाक, कल्याणकोष, सेवानिवृत्त औषधि उपचार लगायतका शीर्षक बाहेक कर्मचारी बैठक भत्तामा २ लाख, कर्मचारी प्रोत्साहन भत्ता पुरस्कारमा ११ लाख, कर्मचारी तालिम खर्चमा १५ लाख, कर्मचारीको क्षमता अभिवृद्धि तालिममा ४ लाख गरी कर्मचारीको अन्य सुविधामा कुल ३२ लाख बिनियोजन गरिएको छ ।
चालु खर्चको मसलन्द तथा कार्यालय सामाग्री शीर्षकमा ५२ लाख, पुस्तक तथा सामाग्री खर्चमा ४० लाख, अन्य कार्यालय सञ्चालन खर्चमा ७ लाख, विविध खर्च शिर्षकमा ३५ लाख बजेट बिनियोजन भएको छ ।
गत आर्थिक वर्षको अनुसार कुल १ करोड १ लाख मात्र आन्तरिक आयश्रोत भएको नगरपालिकामा चालु खर्च अनुमानितमा गरिएको बजेट विनियोजन लापरबाहीपूर्ण रहेको स्थानीय माधव दहालको गुनासो छ । भन्छन् ‘जनप्रतिनिधिहरुले यो प्रकारको बजेट विनियोजन गरेर नगरबासीको अपमान गरेका छन् ।’
खर्चको तुलनात्मक अनुपात
गौरादह नगरपालिकाले यस आर्थिक बर्षको कुल चालु खर्च १२ करोड २६ लाख ९० हजार बाट महिला विकास, पशुसेवा, कृषि शाखा, शिक्षा शाखा आयुर्वेद शाखा, स्वस्थ्य शाखा लगाएतको शिर्षकमा २ करोड २० लाख बिनियोजन भएको छ ।
यसरी विश्लेषण गर्दा गौरादहमा कुल चालु खर्चको १८ प्रतिशत मात्र हुन आउछ । त्यसैगरी दमक नगरपालिकाले बिनियाजन गरेको चालु खर्चको ५५ करोड ६४ लाख ३६ हजार बाट शिक्षा, स्वस्थ्य, कृषि, पशु स्वस्थ्य, महिला विकास लगायतका कार्यक्रम खर्चको शीर्षकमा ३३ करोड ४८ लाख ५२ हजार बिनियोजन गरेको छ ।
यसरी विश्लेषण गर्दा दमकमा ६० प्रतिशत कार्यक्रम खर्चमा बिनियोजन भएको छ । गत असार ३२ गतेबाट सुरु भएको नगर सभाले नगरको आर्थिक वर्ष २०७५/०७६ को बजेट तथा नीति कार्यक्रम सर्बसम्मत रुपमा पास गरेको थियो ।
वाड नं ७ का वार्ड सदस्य तथा नेकपाका प्रदेश कमिटि सदस्य अम्मर सिवाकोटीको नेतृत्वमा नगरसभा सदस्यहरु कोमल ढंगाना, गोपाल घिमिरे, महेश्वर सुवेदी, सुर्य नेम्वाङ, कपिलमणी काफ्ले, उत्तम बस्नेत सहित स्थानीय युवाहरुले तत्काल सार्वजनिक सुनुवाई गर्नुपर्ने, चालु खर्चको असमान वितरण संसोधन गर्नुपर्ने, नगरसभा अबिलम्व बोलाइनु पर्ने लगायत विषयमा छलफल भएको सहभागी जनप्रतिनिधिहरूले बताए ।