इनरुवा/ पूर्वमा झण्डै एक दशकयता सशस्त्र सङ्घर्षरत खम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले औैपचारिक रूपमा हतियार त्यागेको छ । शान्तिपूर्ण राजनीतिमा आउने भन्दै मोर्चाले सरकारी वार्ता टोलीसमक्ष हतियार बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्रकार सम्मेलनमा मोर्चाले सरकारी वार्ता टोेलीलाई हतियार जिम्मा लगाएको हो ।
मोर्चाका वार्ता टोली संयोजक डेबिड खम्बुसहितको टोलीले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसमक्ष हतियार बुझाएको हो । समूहले बुझाएको हतियारमा ५ थान भरुवा बन्दुकसहित एउटा पेस्तोल, म्यागजिन र ४ थान गोली रहेको छ ।
सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीसँग सुनसरीमा भएको वार्ता सकारात्मक भएपछि मोर्चाले हतियार बुझाएर निःशस्त्र भएको घोषणा गरेको हो ।
यसैगरी जिल्ला प्रशासन कार्यालयमै पुगेर तराई मुक्ति मोर्चाले समेत हतियार बुझाएको छ । गत २७ गते मोरङ प्रशासनमा वार्ता टोलीसँगको सहमतिपश्चात् शान्तिपूर्ण राजनीतिमा फर्किएको तराई मुक्ति मोर्चाले आफूसँग बाँकी रहेको एक थान पेस्तोलसमेत सुनसरी प्रशासनमा पुगेर सरकारी टोलीको जिम्मा लगाएको हो ।